हरियालीको बाटोमा शिक्षाः बर्दिवास जनता बहुमुखी क्याम्पसमा प्रवेशद्वार उद्घाटन र वृक्षारोपणको उत्सव

[sharethis-inline-buttons]

आज्ञा खबर
बर्दिवास

शिक्षा र वातावरणलाई एकैसाथ अघि बढाउने प्रेरणादायी प्रयास स्वरूप, बर्दिवास नगरपालिका–१४ मा अवस्थित बर्दिवास जनता बहुमुखी क्याम्पसले सोमवार एक विशेष समारोहको आयोजना गरी क्याम्पसको प्रवेशद्वार उद्घाटन तथा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रमको अवसरमा विभिन्न जातका ३ सय बिरुवा रोपिँदा वातावरणीय सन्देश मात्र नभई शिक्षण संस्थाको दीर्घकालीन सोच पनि उजागर भएको देखिन्छ।
सो कार्यक्रमका प्रमुख अतिथि बर्दिवास नगरपालिकाका मेयर प्रह्लाद कुमार क्षेत्रीले उद्घाटन मन्तव्य राख्दै नगरपालिकाको स्वामित्वमा रहेको ९ बिघा ७ कठ्ठा जग्गा बर्दिवास जनता बहुमुखी क्याम्पसलाई हस्तान्तरण गरिएको जानकारी दिए।

“अब बोलेर होइन, गरेर देखाउने समय हो,” मेयर क्षेत्रीको भनाइ थियो, “त्यही सोचअनुसार क्याम्पस सञ्चालनका लागि यस वर्ष नगरपालिकाबाट क्याम्पसकालगी १५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ।” उनले आगामी दिनमा क्याम्पसलाई विश्वविद्यालयको मातहतमा ल्याई संस्थागत रुपमा बलियो बनाउने, साथै जग्गा संरक्षणका लागि घेराबाराको काम नगरको बजेटबाट सम्पन्न भइसकेको जनाए।

उनले थपे, “नगरभित्रका ५२ वटै सामुदायिक विद्यालयका विद्यार्थीहरू उच्च शिक्षा हासिल गर्न यही क्याम्पसमा आउँछन्। त्यसैले गुणस्तरीय शिक्षामा नगरले विशेष ध्यान दिइरहेको छ।”

कार्यक्रममा बर्दिवासका समाजसेवी एवं नेपाली कांग्रेसका महोत्तरी क्षेत्रनम्बर १ का महासमिति सदस्य चिरञ्जीवी हमालले वृक्षारोपणको पर्यावरणीय सन्दर्भमा जोड दिँदै भने, “बिरुवा रोप्नु एक सुरुवात मात्र हो। संरक्षण नै दीर्घकालीन योगदान हो। हामीले आज रोपेका बिरुवाहरूले भोलिको वातावरण बचाउनेछन्।”

त्यस्तै, क्याम्पस व्यवस्थापन समितिका संस्थापक अध्यक्ष तथा समाजसेवी भानुभक्त पोखरेलले मौसमी अनुकूलता र दीर्घदृष्टिकोणलाई जोड दिँदै भने, “आज रोपिएका महत्वपूर्ण बिरुवाहरू भोलिको दिनमा क्याम्पसको अमूल्य सम्पतिका रूपमा रहनेछन्। शिक्षा संस्थामा हरियालीले केवल सौन्दर्य बढाउँदैन, चेतनाको स्वरूप बदल्छ।”


क्याम्पस अध्यक्ष भरत बहादुर हमालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्याम्पस सञ्चालक समिति, पदाधिकारी, प्राध्यापक, विद्यार्थी, अभिभावक र समाजसेवीहरू उल्लेखनीय संख्यामा सहभागी थिए। सो क्याम्पसका प्रमुख चेतबहादुर खड्का (सिताराम)ले कार्यक्रमको सम्पूर्ण जानकारी दिंदै वृक्षारोपण र प्रवेशद्वार उद्घाटनले क्याम्पसको शैक्षिक यात्रामा नयाँ ऊर्जा थपेको उल्लेख गरे।
बर्दिवास जनता बहुमुखी क्याम्पसले शैक्षिक दायित्वको साथसाथै वातावरणीय सन्देश बोकेको वृक्षारोपण कार्यक्रमबाट सामाजिक परिवर्तनको दिशातर्फ सार्थक कदम चालेको छ। जहाँ शिक्षा र हरियाली हातेमालो गर्दै अघि बढिरहेका छन्, त्यहाँ समृद्धिको बीजारोपण निश्चित छ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...