सेवामा पहुँचको नयाँ ढोका : बर्दिवास–३ मा साना शहरी खानेपानीको शाखा कार्यालय सञ्चालनमा

[sharethis-inline-buttons]

आज्ञा खबर
बर्दिवास
बर्दिवास नगरपालिकाले खानेपानी सेवामा गुणस्तर र पहुँच विस्तार गर्ने उद्देश्यसाथ बर्दिवास–३ स्थित गौरीडाँडामा साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ। नगरप्रमुख प्रह्लाद कुमार क्षेत्रीले सोमबार एक विशेष समारोहका बीच उक्त शाखाको औपचारिक उद्घाटन गरे।

उद्घाटन समारोहमा बोल्दै नगरप्रमुख क्षेत्रीले जनताको ढोका–ढोका पुग्ने सेवा नै स्थानीय सरकारको मूल मर्म भएको बताए। उनले स्मरण गरे, “हिजो बर्दिवासमा पानीको हाहाकार थियो, आज हामी समाधानको यात्रामा छौँ।“ क्षेत्रीका अनुसार यो कार्यालय पानी वितरण सेवामा चुस्तता र पारदर्शिता ल्याउने यात्राको अर्को महत्वपूर्ण पाइला हो।

नगरप्रमुखले जनसंख्या वृद्धिको दबाबसँगै सेवा प्रवाह थप व्यवस्थित र दिगो बनाउन नगरपालिकाले निरन्तर प्रयास गरिरहेको जनाए। “यो शाखा कार्यालय मार्फत जनताको सेवामा थप गुणस्तरीयता र पहुँच विस्तार हुनेछ,“ उनले स्पष्ट पारे। नगरप्रमुख क्षेत्रीले आगामी दिनमा पानीको स्रोत संरक्षण, पाइपलाइन स्तरोन्नति तथा डिजिटल महसुल प्रणाली सञ्चालनमा ल्याउने तयारी भइरहेको संकेत गरे। “हामीले अहिले सुविधा नपुगेका क्षेत्रमा पनि सेवा विस्तार गर्ने रणनीति बनाएका छौँ,“ उनले बताए।

बर्दिवास साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको आन्तरिक स्रोतबाट करिब ८ लाख ६ हजार ७ सय ५० रुपैयाँ १७ पैसाको लागतमा यो शाखा कार्यालय निर्माण गरिएको हो। यो कार्यालय संस्थाको सेक्टर नम्बर १ अन्तर्गत सञ्चालनमा आएको हो।

शाखा कार्यालयबाट बर्दिवास–३ का १२ सय ३० उपभोक्ताहरूले महसुल तिर्ने, नयाँ धारा जडान, मर्मतसम्भार, तथा सेवा सम्बन्धी सम्पूर्ण कार्य सहज रूपमा गर्न सक्नेछन्।

संस्थाका व्यवस्थापक भवनाथ खतिवडाका अनुसार, शाखा स्थापना सँगै उपभोक्ताहरूले सेवा लिन टाढासम्म धाउनुपर्ने बाध्यता हटेको छ। “अब उपभोक्ताले आफूनजिकैको कार्यालयबाटै सबै सेवा सहज रूपमा पाउनेछन्,।

कार्यक्रममा बर्दिवास–३ की अणदेवी शाहीले धाराको महसुल तिरेर सेवा प्रयोग गर्ने पहिलो व्यक्ति बनेकी थिइन्। संस्थाले यस कार्यलाई स्थानीय सेवाको पहुँच विस्तारतर्फ एक महत्वपूर्ण संकेतको रूपमा व्याख्या गरेको छ।

स्थानीय बासिन्दाहरूले खानेपानी सेवामा गुणस्तर र समयमै मर्मत तथा महसुल व्यवस्थापनमा सुधारको अपेक्षा गरेका छन्। उपभोक्ता सुबोध कट्टेल भन्छन्, “अब सानातिना कामका लागि खानेपानीको मुख्य कार्यालय जानुपर्ने छैन, आफूनजिकै काम हुने भएपछि निकै सहज भयो।”

कार्यक्रममा बर्दिवास नगरपालिकाका प्रवक्ता विजय कुमार महतो, वडा नं ३ का अध्यक्ष विराट कुमार विष्ट, समाजसेवी पोशण थापा लगायतको उपस्थिति रहेको थियो।

नयाँ शाखाको उद्घाटनले खानेपानी सेवा प्रणालीलाई अझ नजिक र उत्तरदायी बनाउने अपेक्षा गरिएको छ। स्थानीय सरकार र उपभोक्ता संस्थाको सहकार्यले ‘घर–घरमा पानी, प्रत्येक नागरिकलाई सेवा’ भन्ने नारालाई व्यवहारमा उतार्ने विश्वास लिइएको छ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...