सर्मिला घिमिरे
बर्दिवास
मधेस प्रदेशका होटल सञ्चालकहरुको व्यवसायिक क्षमता अभिवृद्धि तथा होटल स्तरोन्नतीमा सहयोग पु¥याउने उद्देश्यले बर्दिवासमा एक विशेष प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएको छ। नेपाल होटल संघ, काठमाडौंको आयोजनामा, नेपाल पर्यटन बोर्डको सहकार्य र मधेस प्रदेश सरकारको समन्वयमा बर्दिवासस्थित गौतम होटलमा कार्यक्रम सम्पन्न भएको हो।
होटल संघ नेपाल, मधेस प्रदेशका उपाध्यक्ष देवनारायण मण्डलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा होटल सोल्टी ग्रुपका विज्ञ प्रशिक्षक डा. रुपेश श्रेष्ठले धनुषा, महोत्तरी र सप्तरी जिल्लाका होटल व्यवसायीहरूलाई प्रशिक्षण दिएका थिए।
कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघ, मधेस प्रदेशका अध्यक्ष हिरालाल गौतमले उद्घाटनलाई सम्बोधन गर्दै भने, “यस्ता खालका प्रशिक्षणहरूले अतिथि सत्कारको संस्कृति बलियो बनाउनुका साथै व्यवसायिक प्रगति र गुणस्तरीय सेवा विस्तारमा महत्त्वपूर्ण योगदान पु¥याउँछन्।” उनले आगामी दिनमा समेत प्रदेशभर यस्ता कार्यक्रम विस्तार गर्नुपर्ने आवश्यकता औंल्याए।
प्रशिक्षणमा सहभागी व्यवसायीहरूबाट पनि सकारात्मक प्रतिक्रिया आएको छ। होटल तथा पर्यटन व्यवसायी संघ, महोत्तरीका प्रथम उपाध्यक्ष अमित बस्नेतले भने, “यस्ता प्रशिक्षणले व्यवसायीहरूमा आत्मबल बढाउँछ। लगानीको आकार जे भए पनि स्थानीय उत्पादनको सदुपयोग गरेर ग्राहकलाई सन्तुष्टि दिलाउन सकिने आत्मविश्वास प्राप्त भयो।”
त्यसैगरी, ‘हाम्रो होटल एण्ड गेष्टहाउस’का सञ्चालक कुबेर घिमिरेले भने, “पाहुनाको रुचि बुझ्न, प्रविधिको प्रयोग गर्न र सेवा गुणस्तर सुधार गर्न सिकिएको ज्ञान अत्यन्त उपयोगी छ। यस्तो ज्ञानले व्यवसाय बढाउने हौसला मिलेको छ र अब हामी अझै व्यवस्थित र व्यवसायिक रूपमा अघि बढ्नेछौँ।”
कार्यक्रममा बर्दिवास लगायत आसपासका क्षेत्रका दुई दर्जनभन्दा बढी होटल व्यवसायीहरूको सक्रिय सहभागिता रहेको थियो। प्रशिक्षक डा. श्रेष्ठले सेवा व्यवस्थापन, ग्राहक सन्तुष्टि, स्थानीय स्रोतको प्रयोग, स्वच्छता, अनलाइन मार्केटिङ र होटेल व्यवस्थापनमा नयाँ प्रविधिको प्रयोगबारे अन्तरक्रियात्मक शैलीमा प्रशिक्षण दिएका थिए।
नेपाल पर्यटन बोर्ड र प्रदेश सरकारको समन्वयमा आयोजित यस्ता कार्यक्रमहरू होटल उद्योगको दिगो विकासमा टेवा पुग्ने विश्वास गरिएको छ। प्रशिक्षण समापन कार्यक्रममा सहभागी व्यवसायीहरूलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो।
बर्दिवासमा सम्पन्न प्रशिक्षणले मधेस प्रदेशको होटल क्षेत्रलाई व्यावसायिक रूपमा अझ मजबुत बनाउने आशा गरिएको छ। आयोजकहरूका अनुसार भविष्यमा अन्य जिल्लामा समेत यस्ता कार्यक्रम निरन्तर सञ्चालन गरिनेछ।





































