आज्ञा खबर
सप्तरी
सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–१ अन्तर्गत कोशी बाँधमा दुई मोटरसाइकल एकआपसमा ठोकिँदा दुइजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्।
शनिबार बेलुकी कङ्कालिनी मन्दिरदेखि भलुवा जाँदै गरेको स १० प ५६२ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आइरहेको बा ५५ प ६६३९ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए।
दुर्घटनामा शम्भुनाथ नगरपालिका–११, राजपुरका १९ वर्षीय आशाराम मण्डल र कञ्चनरुप नगरपालिका–१, बैरवाका ३४ वर्षीय ओमप्रकाश पंजियारको ज्यान गएको हो।
गम्भीर घाइते भएका मण्डलको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उपचारको क्रममा मृत्यु भयो भने पंजियारको विराटनगरस्थित न्यूरो अस्पतालमा ज्यान गएको हो।
यस दुर्घटनामा स १० प ५६२ नम्बरको मोटरसाइकलको पछाडि सवार कञ्चनरुप–१ बैरवाका ३० वर्षीय सुभाष महतो घाइते भएका छन्। महतोको खुट्टा र शरीरका अन्य भागमा चोटपटक लागेको प्रहरीले जनाएको छ। विराटनगरस्थित न्यूरो अस्पतालमा उपचारपछि उनी घर फर्किएको जनाइएको छ।
मृतक दुवै जनाको शव परीक्षणपछि परिवारको जिम्मा लगाइएको छ भने दुर्घटनामा संलग्न दुबै मोटरसाइकल इलाका प्रहरी कार्यालय भारदहको नियन्त्रणमा राखिएको छ। घटनाको बिषयमा थप अनुसन्धान भइरहेको प्रनाउ काफ्लेले बताए।





































