आज्ञा खबर
बर्दिवास
स्वास्थ्य सचेतना र पहुँच अभावमा रहेका समुदायलाई लक्षित गर्दै महोत्तरीको बर्दिवास–१४ मा सोमवार एकदिने निःशुल्क दन्त स्वास्थ्य शिविर सञ्चालन गरिएको छ।
स्वाधिन समृद्ध नेपाल बर्दिवास नगर समिति र ओम चाहबहिल डेन्टल हस्पिटलको संयुक्त आयोजनामा बर्दिवास १४ स्थित कृषि उपज बजार प्रांगणमा आयोजित उक्त शिविरबाट करिब ६ सय जना लाभान्वित भएका छन्।
शिविरमा मुख गन्हाउने, दाँत दुख्ने, किराले खाएको दाँतको उपचार, दाँत झिक्ने, र रुट क्यानाल ट्रीटमेन्ट (आरसीटी) लगायतका दन्त सम्बन्धी सेवा प्रदान गरिएको आयोजक संस्थाले जनाएको छ। साथै, सेवाग्राहीलाई आवश्यक औषधिहरू समेत निःशुल्क वितरण गरिएको थियो।
शिविरको उद्घाटन स्वाधिन समृद्ध नेपालका केन्द्रीय अध्यक्ष टेक बहादुर बलम्पाकीले गरेका थिए। उद्घाटन समारोहमा बोल्दै अध्यक्ष बलम्पाकीले नागरिक सशक्त र समृद्ध भए मात्रै संविधानले परिकल्पना गरेको समाजवादी मुलुक निर्माण सम्भव हुने धारणा व्यक्त गरे।
“नागरिक स्वाधीन र समृद्ध बन्नु नै समृद्ध नेपालको मुख्य आधार हो,” अध्यक्ष बलम्पाकीले भने, “नेपाल कृषि प्रधान देश भएकाले कृषि पेशामा आधारित व्यावसायिक उत्पादनमार्फत मात्र किसानको जीवनस्तर उकास्न सकिन्छ।”
उनले किसानको जिबन स्तर उकास्न हालै बर्दिवास–८ मा १ बिघा क्षेत्रफलमा कुरीलो खेती सुरु गरिएको जानकारीसमेत कार्यक्रममा सार्वजनिक गरेका थिए।
दन्त स्वास्थ्यप्रति अझै पनि धेरैमा जानकारी नभएको उल्लेख गर्दै अध्यक्ष बलम्पाकीले यस्ता शिविरहरूले जनचेतना अभिवृद्धिमा सहयोग पु¥याउने विश्वास व्यक्त गरे।
शिविरमा डेन्टल विशेषज्ञ चिकित्सकहरूको टोलीले प्रत्यक्ष सेवा प्रदान गरेको थियो।
स्वाधिन समृद्ध नेपाल बर्दिवास नगर समितिले नगरका अन्य वडाहरूमा पनि यस्ता शिविर सञ्चालन गर्ने तयारी गरेको छ। संस्थाका अनुसार मंगलवार बर्दिवास–५ स्थित टुटेश्वरको चुरेपार्बती भवन र बुधवार बर्दिवास–८ स्थित हातिलेटमा दन्त शिविर आयोजना गरिनेछ।
“स्वास्थ्य सेवा सबै नागरिकको पहुँचमा हुनुपर्छ,” आयोजक संस्थाले जनाएको छ, “सामुदायिक सहकार्यमा यस्ता स्वास्थ्य कार्यक्रमलाई निरन्तरता दिइने संस्थाका बर्दिवासका अध्यक्ष गणेश थापाले बताए।





































