बर्दिवासमा ई–रिक्सा दर्ता तथा प्रमाणपत्र वितरण शुरु, १ सय ३५ सवारी सूचीकृत

[sharethis-inline-buttons]

आज्ञा खबर
बर्दिवास
बर्दिवास नगरपालिकामा सञ्चालित विद्युतीय तिनपाङ्ग्रे सवारी साधन (ई–रिक्सा) को दर्ता तथा प्रमाणपत्र वितरण प्रक्रिया औपचारिक रूपमा सुरु गरिएको छ। बुधबार एक विशेष कार्यक्रमका बीच नगर प्रमुख प्रह्लाद कुमार क्षेत्रीले ई–रिक्सा दर्ताका प्रमाणपत्र वितरण गर्दै यसको विधिवत सञ्चालनको शुरुवात गरेका हुन्।

नगरपालिकाका अनुसार हाल बर्दिवासमा सञ्चालनमा रहेका १सय ७८ वटा ई–रिक्सामध्ये १ सय ३५ वटा मात्र हालसम्म नगरपालिकामा सूचीकृत भएका छन्।

कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख क्षेत्रीले ई–रिक्सा दर्ता प्रक्रियाले चालक तथा साना उद्यमीलाई सुरक्षित र व्यवस्थित रूपमा सवारी सञ्चालन गर्ने बाटो खोलेको बताए। उनले हाल ई–रिक्सा सञ्चालनमा देखिएका विविध समस्याहरू कानुनी दायरा भित्र रही समाधान गरिने प्रतिवद्धता जनाए।
सोही प्रसंगमा प्रमुख क्षेत्रीले भने “हामीले बसपार्क निर्माणको प्रक्रिया अगाडि बढाइरहेका छौं,“अहिले मुख्य बजार क्षेत्रमा देखिएको अव्यवस्थित पार्किङको समस्या “छिट्टै नै समाधान हुनेछ।“

उनले महिला उद्यमीहरूका लागि विशेष कार्यक्रम ल्याउने तयारीसमेत नगरपालिकाले गरिरहेको जानकारी दिए।

कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राममणि अधिकारीले ई–रिक्सा खरिद–बिक्री गर्दा आवश्यक कागजी प्रक्रिया नपुर्याइ मौखिक रुपमा खरीद गरेर सञ्चालनमा आएका सवारी साधनलाई मिहिन ढंगले मूल्याङ्कन गरिने बताए।

“हामी बुझ्छौं सवारीधनीहरू समस्यामा हुनुहुन्छ,“अधिकारीले भने, “तर नगरपालिका भनेको नीति, नियम र कानुनअनुसार चल्ने संस्था हो। त्यसैले समस्या समाधान गर्न केही समय लाग्न सक्छ।“

अधिकारीले दर्ता भएका सवारीसाधनलाई नगर प्रहरी, बजार व्यवस्थापन समिति तथा राजस्व शाखासँग समन्वय गरी सञ्चालन गर्न आग्रह समेत गरे।

नगरपालिकाले दर्ता प्रक्रियापछि सवारी उद्यमी तथा चालकलाई रुट इजाजत दिनुका साथै यात्रु भाडा निर्धारण, आवश्यक निर्देशन दिने र निर्धारित राजस्व असुली गर्ने कामहरु गरिने जानकारी दिएको छ।

बर्दिवास नगरपालिकाले गरेको यस प्रक्रियाबाट ई–रिक्सा सेवा थप सुरक्षित, व्यवस्थित र कानुनी ढाँचामा अगाडि बढ्ने अपेक्षा गरेको छ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...