बिश्व साईकल दिवसको अवसरमा बर्दिवासमा साईकल रेस प्रतियोगिता

[sharethis-inline-buttons]

आज्ञा खबर
बर्दिवास
“सङ्गै यात्रा गरौं,असल जीवन जिउँ, साईकल चलाऔँ, स्वस्थ्य रहौं, वातावरण जोगाऔँ“– यही सन्देश बोकेर महोत्तरीको बर्दिवास–५ टुटेश्वर मन्दिर प्रांगणमा यसवर्षको विश्व साइकल दिवस एक विशेष रंगमा मनाइयो। बर्दिवास साइकलिङ क्लबको आयोजनामा भएको फास्ट साइकल रेस प्रतियोगिता र स्लो साइकल रेस ले केवल प्रतिस्पर्धाको रोमाञ्च मात्रै ल्याएन, बरु बर्दिवासको परिवेशमा जन–स्वास्थ्य, वातावरणीय चेतना, र सामुदायिक एकताको सन्देश पनि फैलायो।
प्रतियोगितामा लक्ष्मीराज जोशी पहिलो भएका छन्। जोशी पेशाले प्रहरी निरीक्षक हुन् र हाल जिल्ला ट्राफिक प्रहरी कार्यालय महोत्तरीमा कार्यरत छन्। उनले १२ किलोमिटरको फास्ट दूरी २७ मिनेट २४ सेकेन्डमा पार गर्दै आफूलाई केवल एक जिम्मेवार प्रहरीमात्रै नभई एक अनुशासित खेलाडीका रूपमा पनि प्रमाणित गरे। बर्दिवासको गर्मी, धुलो र गन्तव्यसम्मको उकालो–ओरालोको बाबजुद, उनको सन्तुलित साइकलिंग कौशल र आत्मनियन्त्रित उर्जा–प्रवाहले उनलाई यो उपाधि दिलायो।

लक्ष्मीराज जोशीको जितले प्रहरी समुदायभित्र पनि शारीरिक स्फूर्ति र खेलप्रतिको अभिरुचिको सन्देश दिएको छ। उनी भन्छन्, “साइकल चलाउनु केवल प्रतिस्पर्धा होइन, यो जीवनको अनुशासन हो। हामी जति धेरै साइकल चलाउँछौं, त्यति नै स्वस्थ्य रहन्छौं र वातावरणलाई सहयोग गर्छौं।”
यस फास्ट साइकल दौडमा दोस्रो स्थान शुरेश केशी ले हासिल गरे। उनले ३० मिनेट ४३ सेकेन्डमा दूरी पूरा गरे। शुरेश एक स्थानीय व्यवसायी हुन्, जो बिहानको समयमा नियमित साइकल चलाउने बानी बनाएका छन्। उनले भने, “साइकल मेरो लागि ध्यान जस्तै हो। आजको दौडमा सहभागी भएर मैले समुदायभित्रको सकारात्मक प्रतिस्पर्धा महसुस गरे।”
तेस्रो स्थान खेमबहादुर (प्रदिप) कार्की ले ३२ मिनेट २४ सेकेन्डमा तय गर्दै प्राप्त गरे। उनले भर्खरै बर्दिवास साइकलिङ क्लबको अध्यक्षमा निर्वाचित भएर नेतृत्व सम्हालेका छन्। प्रतिस्पर्धा र संगठन दुवै जिम्मेवारी सम्हाल्दै कार्कीले भने, “साइकलले हामीलाई जोड्छ – स्वास्थ्यसँग, समाजसँग, प्रकृतिसँग।”
प्रतियोगितामा फास्ट दौड जत्तिकै रोमाञ्चक बन्यो धीमा साइकल दौड, जहाँ उद्देश्य थियो — २ सय मिटर दूरी सबैभन्दा ढिलो पार गर्नु। यहाँ धैर्यता, सन्तुलन र मानसिक नियन्त्रण परीक्षणमा पथ्र्यो।

बिरु मगर, एक शंकर सईकल स्टोरका कर्मचारी हुँन ।
धीमा दौडमा प्रथम भए। उनको साईकलले २ सय मिटर दुरी पार गर्न १० मिनेट ३९ सेकेन्ड लाग्यो। यो देखेर दर्शक चकित भए। उनले सन्तुलन कायम राख्दै अत्यन्तै बिस्तारै साइकल चलाएका थिए। “जीवन पनि कहिले काँही बिस्तारै जानुपर्छ, धैर्यता आवश्यक हुन्छ,” उनी मुस्कानका साथ भन्छन्।

दोस्रो स्थानमा रहे उदय भण्डारी (बिष्णु)। उनको साइकलले २सय मिटर पार गर्न ४ मिनेट २० सेकेन्ड लियो। उनले भने, “यो दौड मलाई मेडिटेसन जस्तो लाग्यो। हरेक सेकेन्ड सन्तुलनमा ध्यान दिनु पथ्र्यो।”
तेस्रो स्थानमा हिरालाल गौतम, जो बर्दिवास साइकलिङ क्लबका सल्लाहकार होटल तथा पर्यटन ब्यवसायी समेत हुन्, ३ मिनेट २३ सेकेन्ड मा दूरी पार गर्दै सम्मानित भए। उनले भने,साइकल दिवसलाई बिशेश किसिमले मनाउन र टुटेश्वर क्षेत्रलाई पर्यटकिय स्थलको रुपमा प्रचार प्रसार गर्न समेत यस स्थानमा साईकल दौड प्रतियोगिता गरीएको बताए ।
प्रतियोगिताको अन्त्यमा, बर्दिवास साइकलिङ क्लबले नयाँ कार्यसमिति गठन गरेर यो अभियानलाई दीगो बनाउने संकल्प व्यक्त ग¥यो। अध्यक्षमा खेम बहादुर (प्रदिप) कार्की निर्वाचित भए भने अन्य सदस्यमा कुमार भण्डारी, उपेन्द्र राय, रोशनलाल श्रेष्ठ, उदय भण्डारी (बिष्णु) लगायत रहेका छन्।

सल्लाहकारमा हिरालाल गौतम छन्, जसले क्लबको दिशा–निर्देशन, सञ्जाल विस्तार र दीगो अभ्यासलाई मार्गदर्शन दिनेछन्।

कार्कीले नयाँ कार्यसमिति गठनपछि भने, “हामी अब नियमित साइकल यात्रा, स्कुलस्तरीय दौड, वातावरणीय सन्देश बोकेका क्याम्पेनहरू संचालन गर्नेछौं। साइकल अब केवल साधन होइन, यो हाम्रो पहिचान बन्नेछ।”
पूर्व–पश्चिम राजमार्गको मध्य बिन्दुमा रहेको बर्दिवासको शहरी बस्ती, अहिले साइकल संस्कृतितर्फ आकर्शित बन्दैछ। यहाँका युवा, विद्यार्थी, महिला समेत बिहान साइकल चढेर हिँड्ने दृश्य सामान्य भइसकेको छ।

यही सन्दर्भमा, बर्दिवास नगरपालिका, ट्राफिक प्रहरी, स्थानीय संस्था, क्लब र स्वयम् साइकल चालकहरुको सहकार्यले यो संस्कारलाई प्रवद्र्धन गर्दै लगेको छ। स्वास्थ्य, वातावरण र पेट्रोलियममा हुने खर्च न्यूनीकरण – यी सबै उद्देश्यले साइकल यात्रालाई बर्दिवासको सामूहिक परियोजनामा परिणत गरिरहेको छ।
साइकल संस्कृतिलाई प्रवद्र्धन गर्नकै लागि अझ धेरै गर्न बाँकी छ। पर्याप्त साइकल लेन, सुरक्षित पार्किङ स्थान, नियमित मर्मतको सुविधा, र ट्राफिक व्यवस्थापन —
तर, आशा पनि उत्तिकै छ। युवाको आकर्षण, समुदायको सहयोग र क्लबको योजनाबद्ध सक्रियताले बर्दिवासलाई प्रदेशकै साइकल–मैत्री शहर बनाउने सम्भावना समेत बलियो बन्दै गएको छ।
साइकल चलाउनु केवल एक स्थानदेखि अर्को स्थानसम्म पुग्ने भौतिक गतिविधि होइन, यो एउटा विचार हो — शारीरिक तन्दुरुस्तीको, वातावरणीय चेतनाको, सामाजिक एकताको र व्यक्तिगत अनुशासनको।

बर्दिवासमा आयोजित विश्व साइकल दिवसको यो आयोजनाले एउटा कुरामा सबैलाई एकमत बनायो ः “साइकल अब रोजाइ होइन, आवश्यकता हो।”

अब बर्दिवासले साइकलको गन्तव्यलाई सहरका सडकमा मात्र होइन, समाजको सोचमा पु¥याउन थालेको छ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...