आज्ञाखबर
जनकपुरधाम
मधेस प्रदेशको शिक्षा तथा संस्कृति मन्त्रालयको आयोजनामा आगामी असार १० र ११ गते जनकपुरधाममा दुईदिने राष्ट्रिय शिक्षा सम्मेलन हुने भएको छ। संघीयताको सन्दर्भमा शिक्षा क्षेत्रको नीति निर्माण, योजना, कार्यान्वयन र समन्वयका लागि साझा परिप्रेक्ष्य तय गर्ने लक्ष्यसहित यो सम्मेलन आयोजना गरिन लागेको हो।
सोमबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा शिक्षा तथा संस्कृति मन्त्री रानी शर्माले सम्मेलनको उद्देश्य, तयारी र सहभागी पक्षहरूको बारेमा जानकारी दिँदै भनिन्, “हामी प्रदेश र स्थानीय तहका यथार्थ, चुनौती र सम्भावनालाई विश्लेषण गरेर शिक्षामा सुधारको मार्ग खोज्दैछौँ।”
दुई दिनसम्म चल्ने यस सम्मेलनमा सातै प्रदेशका शिक्षामन्त्री तथा सचिवहरू, संघीय शिक्षा मन्त्रालयका प्रतिनिधिहरू, संसद्का सम्बन्धित समिति सदस्यहरू, विश्वविद्यालय तथा अनुसन्धान संस्थाका विज्ञहरू, शिक्षक संघ, विद्यार्थी संगठन, सञ्चारकर्मी, नागरिक समाज तथा विकास साझेदारहरूको सक्रिय सहभागिता रहनेछ।
मन्त्री शर्माका अनुसार सम्मेलनमा शिक्षण विधिमा नवप्रवर्तन, शिक्षा नीति र शासन प्रणाली, समावेशी र न्यायसंगत शिक्षाको सुनिश्चितता, डिजिटल शिक्षा प्रणालीको रूपान्तरण, समुदायको सहभागिता, प्रमाणमा आधारित अनुसन्धान, मधेस प्रदेशको विशेष शैक्षिक चुनौती–अवसर तथा स्रोत परिचालन जस्ता विषयमा गहन छलफल हुनेछ।
मन्त्री शर्माले शिक्षा क्षेत्रका विज्ञ, शिक्षाविद्, अनुसन्धानकर्ता तथा शिक्षकहरूलाई कार्यपत्र वा विचार–सारांशसहित सहभागी भई सम्मेलनलाई अझ सशक्त र ज्ञानमूलक बनाउन अनुरोध पनि गरिन्। “सम्मेलनलाई समावेशी, नवप्रवर्तनशील र तथ्य–आधारित बनाउने हाम्रो प्रयास हुनेछ,” उनले भनिन्।
मन्त्रालयको अपेक्षा अनुसार, सम्मेलनबाट मधेस प्रदेशको शिक्षा नीति कार्यान्वयनका लागि ठोस मार्गदर्शन प्राप्त हुने, संघीय शिक्षा नीतिमा योगदान पुग्ने र तीनवटै तहबीच समन्वयात्मक शिक्षा प्रशासन निर्माणको जग बस्ने विश्वास गरिएको छ।
