बर्दिवासमा सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूका लागि नेतृत्व विकास तालिम सुरु

[sharethis-inline-buttons]

आज्ञा खबर
बर्दिवास
महोत्तरीको बर्दिवासमा सोमवारदेखी सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूका लागि नेतृत्व क्षमता विकास सम्बन्धी पाँच दिने तालिम सुरु गरिएको छ। बर्दिवास नगरपालिकाको आयोजनामा, सेभ द चिल्ड्रेनको आर्थिक सहयोग तथा सामुदायिक विकास तथा पैरवी मञ्च नेपालको सहकार्यमा

सुरु भएको तालिमले विद्यालय नेतृत्वको व्यक्तिगत तथा संस्थागत क्षमता अभिवृद्धि गर्दै शिक्षाको समग्र गुणस्तर सुधार गर्ने लक्ष्य लिएको छ। तालिम बर्दिवास नगर क्षेत्रभित्रका सबै सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूलाई समेटेर दुई समूहमा सञ्चालन हुँदैछ। तालिममा सात जना प्रशिक्षित सहजकर्ताले सहजीकरण गरिरहेका छन्।

तालिमको उद्घाटन समारोहमा बर्दिवास नगरपालिकाका मेयर प्रह्लाद कुमार क्षेत्रीले सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि नेतृत्वदायी भूमिकामा रहेका प्रधानाध्यापकहरू सक्षम र उत्तरदायी हुनुपर्नेमा जोड दिए। “सानातिना समस्या विद्यालय व्यवस्थापन समितिसँग मिलेर समाधान गर्नुपर्छ भने ठूला समस्या समाधानको जिम्मेवारी नगरपालिका लिन्छ,” उनले भने। साथै, उनले विद्यालयमा विद्यमान स्रोत, साधन र जनशक्तिको अधिकतम उपयोग गरी बर्दिवासलाई शैक्षिक रुपान्तरणको नमुना बनाउनुपर्ने आवश्यकता औंल्याए।

सो अवसरमा उपमेयर तारादेवी महतोले तालिमले विद्यालयको शैक्षिक सुधारमा ठोस योगदान पुग्ने विश्वास व्यक्त गरिन्। “विद्यालयको गुणस्तर सुधारका लागि विद्यार्थी, अभिभावक, शिक्षक र प्रधानाध्यापकबीच सहकार्य अपरिहार्य छ,” उनले भनिन्।

प्रमुख प्रशासकीय अधिकृत राममणी अधिकारीले भौतिक पूर्वाधारसँगै शैक्षिक गुणस्तर सुधार आवश्यक रहेको धारणा व्यक्त गर्दै प्रधानाध्यापकहरू समाजका अगुवा भएको उल्लेख गरे। उनले कम्प्युटर प्रयोगशालाको उपयोग, अतिरिक्त क्रियाकलाप र मूल्यांकन प्रणालीमा सुधारमार्फत विद्यार्थीको समग्र विकास सम्भव हुने विश्वास व्यक्त गरे।

तालिममा सहभागी प्रधानाध्यापकहरूले सिकाइमुखी प्रक्रिया र सहकार्यमा आधारित तालिमले आफूहरूलाई उत्साहित तुल्याएको जनाउँदै तालिम पश्चात विद्यालयमा सुधार सम्भव रहेको विश्वास व्यक्त गरेका छन्।

पाँच दिने यो तालिम जेठ २३ गतेसम्म सञ्चालन हुनेछ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...