आज्ञा खबर
जनकपुरधाम
मधेश प्रदेशमा ‘एक निर्वाचन क्षेत्र, एक कालोपत्रे सडक’ योजना अन्तर्गत निर्माण हुन लागेका सडकहरूको शिलान्यास प्रधानमन्त्री केपी शर्मा ओलीले जनकपुरधामबाट डिजिटल माध्यममार्फत गर्ने भएका छन्।
प्रधानमन्त्री ओली आइतबार विशेष कार्यक्रमका लागि जनकपुरधाम आउने कार्यक्रम तय भएको छ। उक्त योजनाको औपचारिक शिलान्यास समारोह जनकपुरधामस्थित महेन्द्र नारायण निधि संस्कृति भवनमा आयोजना गरिनेछ। कार्यक्रममार्फत प्रधानमन्त्रीले विभिन्न प्रदेशसभा निर्वाचन क्षेत्रहरूमा बन्ने कालोपत्रे सडकको शिलान्यास गर्ने छन्।
भौतिक पूर्वाधार विकास मन्त्री सरोज यादवले शनिबार पत्रकार सम्मेलनमार्फत यसबारे जानकारी दिएका हुन्। उनका अनुसार योजना अन्तर्गत प्रत्येक प्रदेशसभा क्षेत्रमा पाँच–पाँच किलोमिटर कालोपत्रे सडक निर्माण गरिनेछ। यो योजना बहुवर्षीय भएको र चरणबद्ध रूपमा विस्तार हुँदै जाने मन्त्री यादवले बताए।
“ग्रामीण क्षेत्रलाई शहरी पूर्वाधारसँग जोड्ने, आपत्कालीन सेवामा सहजता ल्याउने र कृषि उत्पादनलाई बजारसम्म पु¥याउने उद्देश्यका साथ यो योजना अघि बढाइएको हो,“ मन्त्री यादवले बताए।
उनका अनुसार चालु आर्थिक वर्षमा मात्रै ३२० किलोमिटर सडक कालोपत्रे गरिने लक्ष्य छ। उनले थपे, “यस योजना मार्फत रोजगारी सिर्जना, व्यापार र पर्यटन प्रवद्र्धन, स्थानीय उद्योगधन्दा विस्तार जस्ता धेरै क्षेत्रलाई प्रत्यक्ष फाइदा पुग्नेछ। त्यसैले यो योजना सन्देशमूलक र प्रभावकारी ढंगले अगाडि बढाउनु जरुरी छ।“
सरकारको दाबी अनुसार यो योजना मधेश प्रदेशको ग्रामीण भेगमा सडक पहुँचको सुधार गर्दै विकासको नयाँ आधार तयार पार्ने कोशेढुंगा सावित हुनेछ।





































