आज्ञा खबर
बर्दिबास
पूर्व–पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत बर्दिबास नगरपालिका–१ स्थित शुभ–स्वस्तिक अस्पताल अगाडि प्रहरीले झण्डै १५० किलो लागूऔषध गाँजा बरामद गरेको छ।
गोप्य सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय बर्दिबास र लागूपदार्थ नियन्त्रण ब्युरो शाखा कार्यालय बर्दिबासबाट खटिएको संयुक्त टोलीले उक्त कारबाही गरेको हो। प्रहरी निरीक्षक सरोजकुमार अधिकारी र प्रहरी नायब निरीक्षक मिनबहादुर रावलको नेतृत्वमा खटिएको टोलीले पश्चिमबाट पूर्वतर्फ गइरहेको बा ११ च ३४९४ नम्बरको सेतो रंगको स्कारपियो गाडी जाँच गर्दा सो गाँजा फेला पारेको हो।
प्रहरीका अनुसार गाडीको पछाडिको सिटमा सेतो प्लास्टिकको बोराभित्र, रातो प्लास्टिकले बेरिएको,खरानी रङको डोरीले बाँधिएको अवस्थामा गाँजा लुकाइएको थियो। प्रहरीका अनुसार ३० वटा पोकाभित्र राखिएको गाँजा ५ किलो तौलको,रहेकाले जम्मा १५० किलो बराबरको भएको जनाइएको छ। यद्यपि, गाँजाको वास्तविक तौल नापतौलपछि मात्र सार्वजनिक गरिने प्रहरीले स्पष्ट पारेको छ।
सो गाडीभित्रै लुकाएर राखिएको भारतको बिआर ०१ पिआर ७२९३ नम्बरको प्लेट पनि फेला परेको छ, जसका आधारमा यस घटनामा अन्तर्राष्ट्रिय नेटवर्क संलग्न हुनसक्ने प्रहरीको अनुमान छ।
घटनास्थल ईलाका प्रहरी कार्यालय बर्दिबासबाट करिब २ किलोमिटर दक्षिण–पश्चिममा पर्ने जनाइएको छ। बरामद गाँजा, स्कारपियो गाडी र दुई जना व्यक्तिहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
पक्राउ पर्नेमा सर्लाहीको हरिवन नगरपालिका–५, घुर्कोली निवासी ३५ वर्षीय लालबाबु साह र हरिवन–३, बुद्धचोक निवासी २१ वर्षीय अभिषेक परियार रहेका छन्।
हाल उनीहरूविरुद्ध थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।





































