आज्ञा खबर
धनुषा
मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेशमा सङ्घीय शासन प्रणालीलाई प्रभावकारी बनाउन प्रहरी र कर्मचारी समायोजन प्रक्रिया छिटो सम्पन्न गर्नुपर्नेमा जोड दिएका छन्। जनकपुरधाममा आयोजित “सङ्घीयता सुदृढीकरणसम्बन्धी अन्तरक्रिया कार्यक्रम”मा बोल्दै उनले समायोजन प्रक्रियाको ढिलाइले विकास योजनाको कार्यान्वयनमा बाधा आएको बताएका हुन्।
कार्यक्रमको आयोजना मधेस प्रदेशबाट राष्ट्रिय सभामा निर्वाचित सांसदहरूले गरेका थिए। उक्त अवसरमा मुख्यमन्त्री सिंहले समायोजित कर्मचारीहरूले पर्याप्त सहयोग नगरेको गुनासो गर्दै विकास बजेट इच्छाअनुसार खर्च हुन नसकेको बताएका थिए।
उनले ११औँ तहका अधिकृतहरूलाई सचिव पदमा पदोन्नति गर्नुपर्ने र पालिकाहरूमा पठाइने प्रमुख प्रशासकीय अधिकृतहरू प्रदेश सरकारकै मातहतमा खटाइनु पर्ने आवश्यकता औंल्याए। “प्रधानमन्त्री ओलीले अघिल्लो कार्यकालमा सबै सचिवहरूलाई एकमुष्ट मुख्यमन्त्री कार्यालयमार्फत पठाएको उदाहरण हामीसँग छ,” उनले स्मरण गराउँदै भने, “मधेसका पालिकामा खटाइने प्रशासकीय अधिकृतहरू पनि यही विधिबाट पठाइनु संघीयता सुदृढीकरणका लागि आवश्यक छ।”
मुख्यमन्त्री सिंहले प्रदेशमा रासायनिक मल र बीउ बिजनको आपूर्ति पर्याप्त नभएको गुनासो पनि राखे। उनले प्रदेशमा जनसङ्ख्याको आधारमा बजेट बाँडफाँट गर्नुपर्ने माग गर्दै केन्द्र सरकारको ध्यानाकर्षण गराए।





































