आज्ञा खबर
बर्दिवास
महोत्तरीको बर्दिवास सहित मिथिलाञ्चलका विभिन्न भागहरूमा सोमबार वटसावित्री, स्थानीय भाषामा वरसाइत पर्व, धार्मिक श्रद्धा र सांस्कृतिक उल्लासका साथ मनाइएको छ। विवाहित महिलाहरूले पतिको दीर्घायु तथा पारिवारिक समृद्धिको कामना गर्दै यो पर्व मनाउने परम्परा छ।
पर्वका अवसरमा बिहानैदेखि वर (पीपल वा बरगद) को रूखमुनि पूजा गर्ने महिलाहरूको घुइँचो लागेको थियो। उनीहरू नयाँ सारी, ब्लाउज, लहठी, श्रृङ्गार सामग्रीसहित पूजाका लागि आवश्यक सामान किनेर पूजास्थलमा पुगेका थिए। विशेष गरी नवविवाहित महिलाहरूका लागि यो पर्व अझै विशेष मानिन्छ, जहाँ बेहुलाको घरबाट पूजाका सामग्रीसहित पाहुर (गृहबाट पठाइने सम्मान) समेत पठाइने चलन छ।
वटसावित्रीलाई नारीत्वको रक्षा गर्ने र सन्तान प्राप्तिमा सहयोग पु¥याउने धार्मिक पर्वको रूपमा लिने गरिन्छ। भन्छन मैथली जानकार बर्दिवास नगरपालिका २का महेश कुमार झा उनका अनुसार मिथिला संस्कृतिमा यो पर्व आदर्श नारीको प्रतीकसँग जोडिएको छ। जेठ महिनाको औँसी तिथिमा मनाइने यो पर्व हिन्दु धर्ममा रूखपूजाको महत्त्वलाई पनि उजागर गर्छ।
धार्मिक ग्रन्थहरूमा उल्लेख भएअनुसार बरको बोटमा ब्रह्मा, विष्णु र महेशको वास रहेको मानिन्छ। यस वृक्षमुनि पूजा तथा व्रत कथा सुन्दा मनोकामना पूर्ण हुने जनविश्वास रहिआएको छ। आफ्नो विशालताका लागि प्रसिद्ध बरको बोट दर्शन मात्रले पनि पुण्य प्राप्त हुने मान्यता छ।
दार्शनिक दृष्टिकोणले पनि बरको वृक्ष दीर्घायु, ज्ञान र अमरत्वको प्रतीक मानिन्छ। यही वृक्षमुनि भगवान बुद्धले ज्ञान प्राप्त गर्नुभएको स्मरण पनि यस सन्दर्भमा गरिन्छ। व्रतालु महिलाहरूले दिनभर निराहार व्रत बसेर सावित्री–सत्यवानको कथा सुन्छन् र बरको रूखमा सुतीको धागो बाँध्दै पतिको दीर्घायुको कामना गर्छन्।
वटसावित्री पर्व हिन्दु संस्कृतिको एक जीवित परम्परा हो, जसले महिलाको श्रद्धा, समर्पण र धार्मिक चेतनालाई उजागर गर्छ। सावित्रीको कथालाई यस पर्वको मूल आधार मानिन्छ, जसमा उनले यमराजसँग आफ्ना पतिका जीवनका लागि संकल्पपूर्वक बहस गरेकी थिइन्। सावित्रीको अर्थ वेद माता गायत्री तथा सरस्वतीसँग पनि जोडिएको पाइन्छ।
विशिष्ट धार्मिक र सांस्कृतिक सन्देश बोकेको वटसावित्री पर्व मिथिलाञ्चलको पहिचान र आस्थासँग गहिरो रूपमा गाँसिएको पर्वका रूपमा अझै जीवित छ।





































