धनुषामा अवैध काठ व्यापार भण्डाफोर, एक जना पक्राउ

[sharethis-inline-buttons]

आज्ञा खबर
धनुषा
धनुषाको क्षिरेश्वरनाथ नगरपालिकामा काठ तस्करी र अवैध फर्निचर उद्योगविरुद्ध वन कार्यालयले कडाइ गर्न थालेको छ। साइनबोर्डविहीन अवस्थामा संचालन हुँदै आएको एक फर्निचर उद्योगमा डिभिजन वन कार्यालय धनुषाले छापा मार्दै ठूलो परिमाणमा काठ बरामद गरेको हो।

क्षिरेश्वरनाथ नगरपालिकास्थित बाख्राबजार नजिक सञ्चालित मनोहर साहको फर्निचर उद्योगमा गरिएको छापामारीका क्रममा करिब ४ क्यूफिट साल जातको काठ फेला परेको वन कार्यालयले जनाएको छ। उद्योगले कानुनी प्रक्रिया पूरा नगरी संचालन गर्दै आएको समेत खुलेको छ।

यसैबीच, क्षिरेश्वरनाथ नगरपालिका–६ स्थित पर्वता–सखुवामहेन्द्रनगर सडकखण्डमा आइतबार बिहान काठ तस्करी गरिरहेका एक व्यक्तिलाई पनि पक्राउ गरिएको छ। बिहान करिब ५ बजे जलाध खोला हुँदै सखुवातर्फ साइकलमा साल जातको गोलिया काठ बोक्दै गरेका इच्छापुर–८ निवासी नरेश मण्डललाई वन कार्यालयको टोलीले नियन्त्रणमा लिएको हो।

डिभिजन वन कार्यालय धनुषाका मनिष लामिछाने र कमाण्डर वैजनाथ सिंहको नेतृत्वमा खटिएको टोलीले मण्डललाई पक्राउ गरेको हो। पक्राउ परेका मण्डलसँग सम्बन्धित थप अनुसन्धान भइरहेको वन कार्यालयले जनाएको छ।

वन क्षेत्रको संरक्षणमा डिभिजन वन कार्यालय धनुषाले कडाइ गर्दै आएको संकेत यी पछिल्ला कारबाहीले दिएका छन्।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...