आज्ञा खबर
सर्लाही
सर्लाहीको लालबन्दी नगरपालिका–१७ स्थित रानिगन्जमा (शुक्रवार)आज स्थानीयले तीन घण्टा अवरुद्ध पारेको पूर्व–पश्चिम राजमार्ग सहमतिपछि खुलेको छ।
गएको सोमबार रानिगन्जको घिमिरे चोकमा बसले म्याजिकलाई ठक्कर दिँदा २२ वर्षीया सोना पन्तको ज्यान गएको हो।
सोही घटनालाई लिएर स्थानीयले दोषी बसधनीले उचित राहत रकम दिनुपर्ने माग गर्दै सडक अवरुद्ध गरेका थिए। आज दिउँसो तीन घण्टासम्मको चक्काजाम बस व्यवसायी संघसँग राहत सम्बन्धी सहमति भएपछि हटाइएको हो।
सहमति भएपछि मृतक सोनाको परिवार शव बुझ्नका लागि प्रादेशिक अस्पताल मलंगवा गएका छन्। उनीहरूको बुबा–आमा भारतबाट ढिलो आइपुगेका कारण अस्पतालमा चार दिनदेखि शव राखिएको थियो। पोस्टमार्टम समेत ढिला भएको प्रहरीले जनाएको छ।
सोमबार अपरान्ह घिमिरे चोकमा डाइभर्सन बनाइएको स्थानमा यात्रु ओर्लँदै गरेका बेला ना. १ ज २६४५ नम्बरको म्याजिकमा सवार सोनालाई मलंगवातर्फ गइरहेको ना. ६ ख ७२२७ नम्बरको बसले ठक्कर दिएको थियो। दुर्घटनामा म्याजिकमा भाडा तिर्दै गरेकी पन्तको घटनास्थलमै मृत्यु भएको थियो।
धादिङ स्थायी घर भइ रानिगन्जको गैरीगाउँस्थित मामाघरमा बस्दै अध्ययनरत सोनाको परिवार भारतमा बसोबास गर्दै आएको छ। घटनापछि उनका बुबा–आमा हिजो मात्र नेपाल आएका थिए।
उक्त दुर्घटनामा अन्य आठ जना घाइते भएका थिए। इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक वीरेन्द्रसिंह जोहारीका अनुसार, म्याजिक चालकसहित पाँच जनाको लालबन्दीस्थित मोडेल अस्पतालमा उपचार भइरहेको छ। एक जना गम्भीर घाइतेलाई काठमाडौं रिफर गरिएको छ भने दुई जना उपचारपछि डिस्चार्ज भइसकेका छन्। दुर्घटनामा संलग्न बसका चालकलाई घटनाको दिनदेखि नै हिरासतमा राखी कानुनी प्रक्रिया अघि बढाइएको प्रहरी निरीक्षक जोहारीले जानकारी दिए।





































