आज्ञा खबर
बारा
बारा प्रहरीले झण्डै ५४ लाख रुपैयाँभन्दा बढी मूल्य बराबरको अवैध सामान बरामद गरी राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको छ।
इलाका प्रहरी कार्यालय जीतपुरबाट खटिएको टोलीले शुक्रबार बिहान ना ५ ख ६७४७ नम्बरको ट्रक जाँच गर्ने क्रममा विभिन्न कपडा, लङ, धागो, चप्पललगायतका खुद्रा सामान बरामद गरेको हो।
प्रहरीका अनुसार ट्रकमा रहेको सामानको बिल र बीजक नहुँदा वा प्रस्तुत गरिएको कागजअनुसार भन्दा बढी मात्रामा सामान भेटिएपछि नियन्त्रणमा लिइएको हो। वीरगञ्जबाट रुपन्देहीतर्फ जाँदै गरेको ट्रकलाई जीतपुर सिमरा उपमहानगरपालिका–७ स्थित प्रहरी चेकप्वाइन्टमा रोकी जाँच गरिएको थियो।
गस्ती टोलीका प्रहरी सहायक निरीक्षक राजन शिवाकोटीका अनुसार सामानको कुल मूल्य ५४ लाख ३५ हजार २ सय ७८ रुपैयाँ बराबर रहेको छ। सामानको स्रोत खुलाउन नसकेको र शंका लाग्दो पाइएपछि ट्रकसहितको सामग्री आवश्यक कारबाहीका लागि पथलैयास्थित राजश्व अनुसन्धान कार्यालयमा बुझाइएको प्रहरीले जानकारी दिएको छ।





































