आज्ञा खबर
जनकपुरधाम
मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले भारतसँगको खुला सीमाबाट हुने अवैध आयातले नेपाली कृषक र उपभोक्ताको स्वास्थ्यमा गम्भीर संकट उत्पन्न गराएको बताएका छन्।
शुक्रबार जनकपुरमा आयोजित मधेस प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा बोल्दै मुख्यमन्त्री सिंहले माछा, अण्डा र कुखुराको मासु जस्ता सामग्री सीमा नाकाबाट अनधिकृत रूपमा भित्रिनु चिन्ताजनक भएको बताए। उनका अनुसार यस्तो आयातित माछामा ‘फर्मालिन’ जस्तो विषालु रसायन प्रयोग हुने गरेको छ, जसले क्यान्सरजस्ता गम्भीर रोग निम्त्याउने खतरा छ।
मुख्यमन्त्री सिंहले भने, “हामी खुला सिमानामा छौं, जुन परिस्थिति रोक्न सजिलो छैन। तर माछामा फर्मालिन प्रयोग गरेर यहाँका बजारमा ल्याइने क्रमले उपभोक्ताको स्वास्थ्य र किसानको आयस्रोत दुवैलाई असर पु¥याएको छ।”
उनले नेपाल अहिले पोल्ट्री र माछा उत्पादनमा आत्मनिर्भर हुन थालेको अवस्थामा अवैध आयातले यहाँका किसानलाई मर्कामा पारेको उल्लेख गरे। “यहाँबाट प्याक भएर काठमाडौंसम्म फर्मालिन प्रयोग भएको माछा पुग्दछ,” उनले थपे, “त्यो खाएपछि क्यान्सर पक्कै लाग्छ।”
सिंहले लागुऔषधको बढ्दो चलनप्रति पनि चिन्ता व्यक्त गर्दै, यदि तत्काल नियन्त्रण नगरिए समाजमा गम्भीर असर पर्ने चेतावनी दिए। साथै, प्रदेशमा प्रहरीको समायोजन नहुँदा सुरक्षा चुनौती झनै बढेको भन्दै उनले संघीय सरकारसँग प्रहरी व्यवस्थापन तत्काल गर्न आग्रह गरे।





































