आज्ञा खबर
सप्तरी
सप्तरीको खडक नगरपालिका–७ स्थित नेपाल बैंक लिमिटेडको कल्याणपुर शाखामा शुक्रबार राति चोरी भएको छ। करिब १२ः२० बजे भएको उक्त घटनामा विभिन्न इलेक्ट्रोनिक उपकरण, हतियार र अन्य सामग्रीहरु चोरी भएका छन्।
बैंकका सुरक्षा गार्डहरू प्रमोद चौधरी र परशुराम चौधरीको सुत्ने कोठाको दराजबाट चोरले प्रवेश गरी सामग्री चोरी गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। चोरी भएका सामग्रीमा दुई थान कम्प्युटर स्क्यानर, दुई थान ल्यापटप, पाँच थान मोबाइल, दुई थान खुकुरी, एक थान १२ बोरको हतियार, २० राउण्ड सर्टगन कार्टिज, डिजिटल तराजु, घडी, मिनि स्पीकर, सिमकार्ड लगायतका वस्तुहरू रहेका छन्।
घटनापछि इलाका प्रहरी कार्यालय कल्याणपुरले अनुसन्धान प्रारम्भ गरेको छ। सिरहा प्रहरीको सहयोगमा सप्तरीको खडक नगरपालिका–६, बिरपुर निवासी २० वर्षीय अपसाद अन्सारीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। अन्सारीसँगै चोरीमा प्रयोग भएको स.६प.५४७३ नम्बरको टिभिएस स्ट्राइकर मोटरसाइकल र केही चोरी भएका सामग्री पनि बरामद गरिएको छ।
घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए।





































