निकिता खनाल
बर्दिवास
महोत्तरीको बर्दिवास नगरभित्रका व्यवसायीहरूलाई लक्षित गर्दै बर्दिवास उद्योग वाणिज्य संघले दुईदिने सेवा शिविर सुरु गरेको छ। शुक्रबारदेखि सुरु भएको शिविर उद्योग वाणिज्य संघको कार्यालय परिसरमा बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म सञ्चालन हुनेछ।
संघका अध्यक्ष विष्णु खड्काका अनुसार शिविरको मुख्य उद्देश्य व्यवसायीहरूलाई विभिन्न सरकारी सेवा सहज र छरितो रूपमा एउटै स्थानबाट उपलब्ध गराउनु हो। “सरकारी प्रक्रिया सहज बनाउँदै व्यवसायमैत्री वातावरण निर्माण गर्न शिविर आयोजना गरिएको खड्काले बताए।

नेपाल गुणस्तर तथा नापतौल विभाग, जनकपुर (धनुषा) र घरेलु तथा साना उद्योग कार्यालय, जलेश्वर (महोत्तरी) को सहकार्यमा सञ्चालन भइरहेको शिविरमा व्यवसाय दर्ता तथा नवीकरण, ढक–तराजु परीक्षण र प्रमाणीकरण, साथै व्यवसाय सञ्चालनसँग सम्बन्धित विभिन्न परामर्श सेवा प्रदान गरिँदैछ।
शिविरको पहिलो दिनमै उल्लेख्य संख्यामा स्थानीय व्यवसायीहरूको उपस्थिति देखिएको छ। संघले यस्ता शिविरहरूलाई भविष्यमा पनि नियमितरूपमा सञ्चालन गर्ने तयारी गरेको जनाएको छ।






































