आज्ञा खबर
सिराहा
सिराहाको नवराजपुर गाउँपालिकाले मैथिली भाषामा तयार पारेको स्थानीय पाठ्यपुस्तक ‘हमर नवराजपुर’ मार्फत कक्षा १ देखि ३ सम्म पठनपाठन सुरु गरेको छ। यो प्रयास मातृभाषा संरक्षणका लागि स्थानीय तहबाट भएको एक उदाहरणीय पहलका रूपमा हेरिएको छ।
गाउँपालिकाका अध्यक्ष शिव उदगार यादवका अनुसार एक सय पूर्णाङ्कसम्म स्थानीय भाषामा अध्ययन–अध्यापन गराउने वैधानिक प्रावधानअनुसार उक्त पाठ्यपुस्तक तयार पारिएको हो। उनका अनुसार, “संविधानले दिएको मौलिक भाषा, कला र संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्ने जिम्मेवारी स्थानीय तहकै हो। सोहीअनुसार कक्षा १ देखि ३ मा मातृभाषा शिक्षाको थालनी गरेका छौं।”
योजना अनुसार आगामी शैक्षिक सत्र २०८३ बाट कक्षा ६ सम्मकै लागि मैथिली भाषामा पाठ्यक्रम निर्माण गरी कार्यान्वयन गरिने तयारी भइरहेको अध्यक्ष यादवले जानकारी दिए।
‘हमर नवराजपुर’ पाठ्यपुस्तकमा स्थानीय भूगोल, संस्कृति, परम्परा, जनजीवन, कृषि, पशुपालन, पर्यटन, प्राकृतिक सम्पदा र घरेलु प्रविधिलगायत विषयवस्तु समेटिएका छन्।
अध्यक्ष यादव भन्छन्, “शहर बजारमा पढाउने नाममा गाउँको भाषा र संस्कृति बिर्सिदै गएको समयमा त्यही जोगाउन हामीले माटो सुहाउँदो, स्थानीय सन्दर्भमा आधारित पाठ्यपुस्तक तयार पारी विद्यालयमा पढाउन सुरु गरेका हौं।”
मैथिली साहित्य परिषद् सिराहाका संयोजक रामरिझन यादवले यो प्रयासलाई प्रशंसनीय भन्दै अन्य स्थानीय तहले पनि मातृभाषा, कला र संस्कृतिको संरक्षणमा यस्तै योजनालाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन्। उनका अनुसार, “अङ्ग्रेजी मोहले स्थानीय भाषाहरू संकटमा परेका बेला नवराजपुरको यो कार्य उदाहरण बन्न सक्छ।”





































