आज्ञा खबर
रौतहट
रौतहटको राजपुर नगरपालिका–४ मा बिना दर्ता सञ्चालनमा रहेका औषधि पसलहरूको अनुगमन गर्न गएको टोलीमाथि दुर्व्यवहार भएको घटनाले नयाँ बहस सिर्जना गरेको छ। औषधि व्यवस्था विभागका निरीक्षकहरूमाथि हातपात र अमानवीय व्यवहार भएकोप्रति नेपाल निजामती कर्मचारी युनियनले कडा आपत्ति जनाउँदै दोषीलाई कानुनी दायरामा ल्याउन माग गरेको छ।
नेपाल निजामती कर्मचारी युनियन, औषधि व्यवस्था विभागअन्तर्गत प्राथमिक कार्य समितिले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा ज्ञापनपत्र बुझाउँदै दोषीहरूलाई तत्काल पक्राउ गरी कानुनबमोजिम कारबाही गर्न आग्रह गरेको हो।
अनुगमन टोलीमा औषधि व्यवस्थापक शम्भु शाहको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय रौतहट र जिल्ला प्रहरी कार्यालयका प्रतिनिधिहरूको सहभागिता थियो। सो क्रममा निरीक्षक ओम जयसवाल र अमर शर्मामाथि स्थानीय केही व्यक्तिहरूद्वारा दुर्व्यवहार र आक्रामक व्यवहार गरिएको युनियनले जनाएको छ।
कर्मचारीमाथि भएको यस्ता हिंसात्मक कार्यले सेवा प्रवाहमा गम्भीर असर पार्ने र कर्मचारीको मनोबल खस्काउने चेतावनी युनियनले दिएको छ। युनियनका अध्यक्ष धीरज रौनियार र सचिव चतुर्भुज धनाडीको हस्ताक्षर रहेको ज्ञापनपत्रमा घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई उदाहरणीय कारबाही गर्न आग्रह गरिएको छ। साथै, यस्ता घटना दोहोरिन नदिन गृह मन्त्रालयसँग समन्वय गरेर पूर्वतयारी गर्न मन्त्रालयको ध्यानाकर्षण गराइएको छ।
संगठनले जनस्वास्थ्यका क्षेत्रमा मन्त्रालयले गरेका प्रयासहरूको कदर गर्दै कर्मचारी सुरक्षाका लागि थप रणनीतिक पहल आवश्यक रहेको पनि उल्लेख गरेको छ।





































