आज्ञा खबर
बर्दिवास
महोत्तरीको बर्दिवास–२ स्थित हङकङडाँडामा निर्माणाधीन ‘हाम्रो माया घर’ अब आश्रयविहीन, अशक्त र बेसहाराका लागि नयाँ जीवनको प्रतीक बन्ने तयारीमा छ। यो घरलाई मधेस प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहद्वारा नौ महिनाअघि गरिएको शिलान्यासपछि सुरु भएको निर्माणले हालसम्म ५० प्रतिशत कार्य सम्पन्न गरिसकेको छ।
समाजसेवी शम्भुप्रसाद भट्टराईको अध्यक्षतामा गठित ‘हाम्रो माया घर निर्माण समिति’का अनुसार दुईवटा भवन निर्माण गर्ने लक्ष्यसहित रु १० करोड ६९ लाखको योजनामा काम अघि बढिरहेको छ। “दुई वर्षभित्र पूर्ण निर्माण सम्पन्न गर्ने हाम्रो लक्ष्य हो,” अध्यक्ष भट्टराई बताउँछन्।
यस प्रेरणादायी प्रयासको शुरुवात गत वर्ष साउनमा आयोजित शिवपुराण महायज्ञबाट संकलित रु दुई करोडको सहयोगबाट भएको थियो। त्यसयता विभिन्न व्यक्तिको सहयोगबाट निर्माण कार्य निरन्तर अघि बढिरहेको छ। हालै मात्र बर्दिवास नगरपालिकाका प्रमुख प्रहलादकुमार क्षेत्रीले रु १५ लाख सहयोगको घोषणा गरेका छन् भने ॐ समाज डेण्टल अस्पतालका डा. सुवास घिमिरेले रु ७ लाख ५० हजार सहयोग उपलब्ध गराएका छन्।
‘हाम्रो माया घरको सम्पूर्ण निर्माण सम्पन्न भएपछि मधेस प्रदेशका सडकमा भौँतारिइरहेका बालबालिका, असहाय वृद्धवृद्धा, अपांगता भएका व्यक्तिहरू तथा समाजबाट तिरस्कृत व्यक्तिहरूका लागि सुरक्षित आश्रयस्थल बन्नेछ। “हामी दुई सय जनालाई खानपान, बास, स्वास्थ्य उपचार र लत्ताकपडासहितको व्यवस्थासहित आश्रय दिने तयारीमा छौँ,” समितिका अध्यक्ष कृष्णप्रसाद गौतम बताउँछन्।
भवन निर्माणका लागि पाँच कठ्ठा १० धुर जग्गा निःशुल्क प्राप्त भइसकेको छ। बालमैत्री तथा अपाङ्गमैत्री सुविधासहितको संरचना निर्माण हुँदैछ, जहाँ बालबालिकाका लागि विद्यालय शिक्षा, खेलकुद र मनोरञ्जनका कार्यक्रम पनि उपलब्ध हुनेछन्।
बर्दिवासमा निर्माणाधिन ‘हाम्रो माया घर’ केवल एउटा संरचना मात्र होइन, यो समाजको बेवास्ता भोग्न बाध्य व्यक्तिहरूका लागि पुनर्जीवनको सुरुवात हो। सहयोगी हातहरूको साथले यस अभियानलाई थप सार्थक बनाउँदै लगेको छ — जहाँ मायाको घर, अब वास्तवमै समाजिक घरजस्तै बन्ने छ।
