आज्ञा खबर
बर्दिवास
महोत्तरी जिल्लाको बर्दिवास नगरपालिकामा अवस्थित बर्दिवास नगर अस्पताल आज बिशेषज्ञ बिशिष्टकृत सेवा दिने अस्पतालको रुपमा स्थापित भइसकेको छ। स्थानीय सरकारको निरन्तर सक्रियता, पूर्वाधारमा गरिएको लगानी र दक्ष जनशक्तिको व्यवस्थापनले गर्दा यो अस्पताल अहिले नगरबासी मात्र नभई आसपासका जिल्लाका बासिन्दाहरूका लागि समेत भरपर्दो स्वास्थ्य सेवा दिने केन्द्र बनेको छ।
सुरुआतको नम्र र चुनौतीपूर्ण यात्रा
यो अस्पतालको सुरुको यात्रा भने अत्यन्त नम्र र चुनौतीपूर्ण थियो। वि.सं. २०३८ सालमा तात्कालिन बर्दिवास गाउँ पञ्चायतको एउटा सानो कोठाबाट “बर्दिवास ईलाका स्वास्थ्य चौकी” को रुपमा सेवा सुरु गरिएको थियो। त्यसबेला एक जना स्वास्थ्यकर्मी र एक जना कार्यालय सहयोगीको भरमा सीमित स्रोत साधनमा आधारित रहेर प्राथमिक स्वास्थ्य सेवा दिन थालिएको थियो।
बर्दिवासको जनसंख्या वृद्धिसँगै स्वास्थ्य सेवाको माग बढ्दै गएपछि चौकीको संरचना विस्तार आवश्यक भयो। यसै क्रममा वि.सं. २०५० सालमा आफ्नै भवन निर्माण गरी सेवा प्रदान गर्न थालियो। यो एक महत्वपूर्ण मोड थियो जसले बर्दिवासको स्वास्थ्य पूर्वाधारको जग बसाल्यो।
अस्पतालमा रूपान्तरण हुँदै विकासको यात्रा
वि.सं. २०६५ साल साउन २९ गते नेपाल सरकारको मन्त्री परिषद्को निर्णयबाट ईलाका स्वास्थ्य चौकीलाई १५ शैयाको बर्दिवास अस्पतालमा स्तरोन्नति गरियो। त्यसपछि एकजना मे.सु. दुई जना एम.बि.बि.एस. चिकित्सक सहित २८ जनाको दरबन्दी कायम गरेर नियमित स्वास्थ्य सेवा विस्तार गरियो। यथा समय अस्पताललाई सामाजिक सहयोग पनि प्राप्त हुन थाल्यो – बर्दिवासका केही सामाजिक अभियन्ताले बर्दिवास अस्पतालको नाममा १८ कठा जग्गा दान गरे।
त्यसपछि नेपाल सरकारको लगानीमा बर्दिवास नगरपालिका–२ मा सुविधा सम्पन्न भवन निर्माण भई अस्पतालले वि.सं. २०७७ सालमा नयाँ भवनमा सरेर सेवा दिन थाल्यो। यसले अस्पताललाई सुत्केरी सेवा, बाल स्वास्थ्य, खोप कार्यक्रम, जस्ता आधारभूत सेवाहरू विस्तार गर्न मद्दत पुर्यायो।
संघीयता कार्यान्वयनपछि झनै तीव्र विकास
वि.सं. २०७४ पछि संघीयता कार्यान्वयनसँगै स्थानीय सरकार सक्रिय रूपमा विकासमा लाग्न थाल्यो। बर्दिवास नगरपालिकाको दोस्रो कार्यकालमा मेयर प्रह्लाद कुमार क्षेत्रीको नेतृत्वमा दीर्घकालीन योजना अनुरूप अस्पतालको पूर्वाधार र सेवा विस्तारमा विशेष जोड दिइयो।
हाल बर्दिवास नगर अस्पतालमा अत्याधुनिक सेवाहरू सञ्चालनमा छन्। आकस्मिक सेवा, ल्याब, एक्स–रे, भिडियो एक्स–रे, डेन्टल सेवा, सामान्य शल्यक्रिया र जनरल ओ.पि.डि सेवा, नबजात शिशु तथा बालरोग सेवा,दाँत मुख तथा गिजारोग सेवा,ल्याब तथा प्रयोगशाला सेवा,जेष्ठ नागरिक स्याहार सेवा,स्वास्थ्य बिमा सेवा,एकद्वार संकट ब्यवस्थापन केन्द्र सेवा,सामाजिक सुरक्षा सेवा,परिवारनियोजन सेवा,सुरक्षित गर्भपतन सेवा,किशोर किशोरी मैत्री सेवा,पोष्टमार्टम सेवा,क्षयरोग उपचार सेवा,रेबिज खोप सेवा लगायत २५ किसिमकासेवा उपलब्ध छन्। साथै स्त्रीरोग, आन्तरिक रोग, नाक–कान–घाँटी तथा मानसिक स्वास्थ्यसम्बन्धी विशेषज्ञ सेवाहरू पनि नियमित रूपमा दिइँदैछन्।
सेवा विस्तार र प्रविधिको प्रयोग
हाल अस्पतालमा २४ सै घण्टा आकस्मिक सेवा दिन जनशक्ति परिचालन गरिएको छ भने सरकारी बिदा बाहेक बिहानैदेखि ओ.पि.डि.सेवा पनि सञ्चालन गरिएको छ। नगरपालिकाको लगानीमा नयाँ शैया थप, औषधि खरिद र वितरण, एम्बुलेन्स सेवा बर्दिवास नगरभरी नि–शुल्क शब बहान सेवा जस्ता कार्यहरू सञ्चालनमा रहेका छन्।
त्यस्तै अक्सिजन प्लान्ट र भेन्टिलेटर प्लान्ट स्थापनाको प्रक्रिया अघि बढाइएको छ। त्यसैगरी फिजियोथेरापी सेवा सञ्चालनको तयारीमा रहेको छ ।
हाल अस्पतालमा दैनिक करिब २००–३०० बिरामीले सेवा लिइरहेका छन्।
सूचना प्रविधिको प्रयोगमा पनि बर्दिवास नगर अस्पताल अगाडि बढिरहेको छ। बिरामी अभिलेख प्रणाली, औषधि व्यवस्थापन प्रणाली र अनलाइन अपोइन्टमेन्ट प्रणालीजस्ता प्रविधि प्रयोगमार्फत सेवा प्रवाहलाई प्रभावकारी बनाउने प्रयास जारी छ।
अस्पतालको आगामी योजनामा पूर्वाधार विस्तारमा जोड दिइएको छ। नगरपालिकाले यसै अन्तरगत अस्पताललाई १ सय शैयाको अस्पतालमा रूपान्तरण गर्ने लक्ष्य लिएको छ। यसले क्षेत्रीय स्तरमै स्वास्थ्य सेवा पहुँच र गुणस्तरमा उल्लेखनीय सुधार ल्याउने विश्वास गरिएको छ।
स्थानीय नेतृत्वको प्रतिबद्धता र परिणाम
बर्दिवास नगरपालिकाका प्रमुख प्रह्लाद कुमार क्षेत्रीका अनुसार, “हामीले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्दै अस्पताललाई जनताको विश्वासिलो सेवा केन्द्र बनाउने अभियानमा लागेका छौं। सुधारको प्रभाव अब जनताले प्रत्यक्ष महसुस गरिरहेका छन्।”बर्दिवास नगर अस्पतालको यो यात्रा एउटा प्रेरणादायी उदाहरण हो – जहाँ एउटा सानो कोठाबाट सुरु भएको स्वास्थ्य सेवा केन्द्र आज आधुनिक सुविधा सम्पन्न अस्पतालमा रूपान्तरण भएको छ। यो मात्र पूर्वाधारको विकासको कथा होइन, जनताको स्वास्थ्य अधिकार सुनिश्चित गर्ने प्रतिबद्ध प्रयासको जीवित दस्तावेज पनि हो।





































