आज्ञा खबर
जनकपुरधाम
मधेश प्रदेशमा बाढी, डढेलो, चट्याङ, आगलागी, स्वास्थ्य प्रकोपजस्ता विविध प्राकृतिक विपद्का जोखिमलाई मध्यनजर गर्दै सशस्त्र प्रहरीले विपद् व्यवस्थापन तालिम सम्पन्न गरेको छ। सप्तरीको बरमझियास्थित सशस्त्र प्रहरी बल, नेपाल दन्तकाली विशेष कार्य तालिम शिक्षालयमा एक सातासम्म सञ्चालन भएको तालिममा ४९ जना सशस्त्र प्रहरी जवानदेखि सहायक निरीक्षक दर्जासम्मका कर्मचारी सहभागी भएका थिए।
तालिम समापन समारोहमा सशस्त्र प्रहरी बल मधेश प्रदेशका प्रहरी नायव महानिरीक्षक (डीआईजी) कृष्ण ढकालले हावाहुरी, चट्याङ, आगलागी तथा स्वास्थ्यजन्य प्रकोपको उच्च जोखिम हुने मनसुनपूर्व अवधिका लागि पूर्वतयारी आवश्यक रहेको बताए। उनका अनुसार अषाढदेखि भदौसम्मको करिब १ सय २० दिन प्राकृतिक जोखिमका दृष्टिले संवेदनशील रहने भएकाले समयमै तालिम सम्पन्न गरिएको हो।
तालिममा सहभागीहरुलाई सडक तथा हवाई दुर्घटना व्यवस्थापन, फायर फाइटिङ, जलजन्य प्रकोपमा उद्धार, शव व्यवस्थापन, डढेलो नियन्त्रण, रोप रेस्क्यु तथा बन्दोबस्ती व्यवस्थापन सम्बन्धी व्यावहारिक अभ्याससहितको प्रशिक्षण प्रदान गरिएको थियो।
समापन कार्यक्रममा तालिम प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र तथा तालिमको ट्याग प्रदान गर्दै डीआईजी ढकालले विपद् व्यवस्थापन कार्यलाई मानवीय संवेदनशीलता र सेवा भावले गरिनुपर्ने पवित्र जिम्मेवारीको रुपमा व्याख्या गरे। उनले भने, “तालिममा प्राप्त ज्ञान र सीपलाई कार्यक्षेत्रमा इमान्दारीपूर्वक लागू गर्नु हामी सबैको दायित्व हो।”
साथै, उनले मनसुनजन्य विपद् न्यूनीकरणका लागि सबै स्थानीय तहका प्रत्येक वडामा स्वयंसेवक टोली गठन गर्ने सशस्त्र प्रहरी बलको योजनाको कार्यान्वयन चरणमा रहेको जानकारी दिए। मधेश प्रदेशका आठै जिल्लामा कार्यरत युनिटहरुलाई यस अभियानमा सक्रियरुपमा लाग्न निर्देशन दिइएको उनले उल्लेख गरे।
तालिम शिक्षालयका समादेशक सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक नेत्रबहादुर कार्कीले शिक्षालयमा विपद् व्यवस्थापन, वाटर रेस्क्यु, प्रतिविद्रोह र विशेष कार्यसम्बन्धी तालिम सञ्चालन गर्दै दक्ष जनशक्ति उत्पादनमा निरन्तरता दिइएको जानकारी गराए। समापन समारोहमा सशस्त्र प्रहरीले प्रयोग गर्दै आएको आधुनिक उपकरण तथा सामग्रीहरुको पनि प्रदर्शनी गरिएको थियो।
अघिल्ला वर्षका विपद् घटनाको विश्लेषणका आधारमा सशस्त्र प्रहरीले देशभरका युनिटहरुमा मनसुनजन्य प्रकोप न्यूनीकरण तथा उद्धारका लागि तयारी तीव्र बनाएको जनाएको छ।





































