आज्ञा खबर
वीरगञ्ज
वीरगञ्ज महानगरपालिकाले सार्वजनिक स्थलहरूमा दीर्घकालदेखि राखिएका बेवारिसे सवारीसाधन र उपकरण हटाउने अभियान तीव्र बनाएको छ। महानगरले नगरको सौन्दर्य र स्वच्छता कायम गर्न, साथै सार्वजनिक आवागमन सहज बनाउन यो कदम चालेको हो।
सोही अभियान अन्तर्गत, आज वडा नम्बर २२ स्थित जगरनाथपुर क्षेत्रमा दुई वर्षदेखि फुटपाथमा राखिएको एक पुरानो रोलर मेसिन हटाइएको छ। नगर प्रहरी र सरसफाइ शाखाको टोलीले दुईवटा क्रेनको प्रयोग गरी उक्त मेसिन हटाएको नगर प्रहरी इन्चार्ज हरि भुसालले जानकारी दिए।
त्यस्तै, वीरगञ्ज बसपार्क क्षेत्रमा लामो समयदेखि निष्क्रिय अवस्थामा रहेका एक बस र एक ट्रक पनि हटाई डम्पिङ साइटमा पुर्याइएको महानगरले जनाएको छ। गत बुधबार पनि महानगरले बसपार्कबाट दुईवटा बेवारिसे बस हटाइसकेको थियो।
महानगर प्रमुख राजेशमान सिंहका अनुसार, सार्वजनिक स्थानहरूलाई व्यवस्थित बनाउन पटक–पटक सूचना जारी गरिए पनि बेवारिसे सवारीसाधन नहटाइएपछि महानगर आफैँले हटाउने निर्णय गरेको हो। उनका अनुसार, फुटपाथ, चोक, उद्यान, बसपार्क लगायतका स्थानमा यस्ता सवारीसाधनले अवरोध मात्र होइन, नगरको सुन्दरता पनि बिगार्ने भएकाले अभियानलाई निरन्तरता दिइएको हो।
“वीरगञ्जलाई सफा, सुरक्षित, सुन्दर र आधुनिक सहर बनाउने हाम्रो लक्ष्य हो। सहर हामी सबैको साझा घर हो, त्यसैले नियम पालना गरौं र यस अभियानमा सहकार्य गरौं,” प्रमुख सिंहले नागरिकहरूप्रति आह्वान गरे।
यो अभियान यात्रु, पैदलयात्री, साना व्यवसायी, ट्राफिक प्रहरी, यातायात व्यवसायी तथा स्थानीय बासिन्दासँगको सहकार्यमा सञ्चालन गरिएको हो।





































