धनुषामा विवाह भोजमा खाद्य विषाक्तताः सयभन्दा बढी बिरामी,४५ जना अस्पताल भर्ना

आज्ञा खबर
धनुषा
धनुषा जिल्लाको मिथिला विहारी नगरपालिका–८, ठेरा कचुरीमा आयोजित एक विवाह भोजमा खाजा खाँदा सयभन्दा बढी व्यक्ति बिरामी परेका छन्। स्थानीय नरेश महराकी छोरीको बिहेमा सहभागी जन्ती र स्थानीय बासिन्दाले खाजा खाएपछि उनीहरूमा स्वास्थ्य समस्या देखिएको हो।

जिल्ला जनस्वास्थ्य कार्यालय धनुषाका प्रमुख डा. उमेश यादवका अनुसार खाजामा खान दिईएको बुनिया, रसबरीलगायतका परिकार खाएपछि पेट दुख्ने, वान्ता आउने र कमजोरी महसुस हुने लक्षण देखिएका छन्।

जनकपुर उपमहानगरपालिका–२३, बिन्हीबाट आइतबार राति जन्ती ठेरा कचुरी आएका थिए। विवाहको स्वयम्बर कार्यक्रम सम्पन्न भएलगत्तै खाजा वितरण गरिएको थियो। खाजा खाएपछि केही समयमै धेरै व्यक्तिमा स्वास्थ्य समस्या देखिएपछि उनीहरूलाई स्थानीय स्वास्थ्य संस्थाहरूमा लगिएको थियो।

भोज खाएर बिरामीपेका मध्ये हालसम्म ४५ जना बिरामीलाई प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गरिएको छ भने अन्य बिरामीहरू विभिन्न क्लिनिक तथा निजी अस्पतालहरूमा उपचाररत छन्। केही बिरामीलाई सामान्य उपचारपछि घर फर्काइएको छ।

खाजाबाट खाद्य विषाक्तता भएको आशंका गर्दै जनस्वास्थ्य कार्यालयले खाजाको नमुना संकलन गरी प्रयोगशालामा परीक्षणका लागि पठाएको छ। परीक्षणको नतिजापछि विषाक्तता कसरी भएको भन्नेबारे निष्कर्ष आउने जनाइएको छ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...