आज्ञा खबर
बर्दिवास
मधेश प्रदेशमा हालै सरुवा भई आएका सुरक्षासंस्थाका उच्च पदस्थ अधिकृतहरू तथा प्रशासन प्रमुखहरूको स्वागत र परिचयात्मक अन्तरक्रिया कार्यक्रम महोत्तरी जिल्लाको बर्दिवासमा एक भव्य समारोहका साथ सम्पन्न भएको छ।
बर्दिवास उद्योग वाणिज्य संघ, नेपाल होटल तथा पर्यटन व्यवसायी सङ्घ महोत्तरी;नेपाल सुनचाँदी व्यवसायी संघ महोत्तरी, लायन्स क्लब अफ बर्दिवास, रोटरी क्लब अफ बर्दिवास तथा महोत्तरी फर्निचर तथा फर्निसिङ व्यवसायी संस्थाको संयुक्त आयोजनामा आयोजित सो कार्यक्रममा नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक ९डीआईजी० उमाप्रसाद चतुर्बेदी, सशस्त्र प्रहरी बलका डीआईजी कृष्ण ढकाल, तथा महोत्तरीका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद रिसालसहित महोत्तरी जिल्ला तथा मधेश प्रदेशमा हालै सरुवा भएर आएका विभिन्न सुरक्षासंस्थाका प्रमुखहरूको स्वागत गरियो।
अन्तरक्रिया कार्यक्रममा स्थानीय नागरिक समाजका प्रतिनिधिहरू, व्यवसायीहरू तथा विभिन्न संघसंस्थाका पदाधिकारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूले कार्यक्रमलाई सरसहभागितामूलक तथा फलदायी बनाउँदै सुरक्षासम्बन्धी विविध जटिल र संवेदनशील विषयहरूमा खुला छलफल गरेका थिए।
कार्यक्रममा लागुऔषध नियन्त्रण, बन्यजन्तुको चोरी तथा तस्करी, प्राकृतिक स्रोत साधनको अवैध दोहन, सिमावर्ती क्षेत्रमा बढ्दो आपराधिक गतिविधि, घरेलु हिंसा, साथै बर्दिवासमा निर्माणाधीन मेडिकल कलेजसँग सम्बन्धित समस्या लगायतका महत्वपूर्ण विषय उठान गरिए। उपस्थित प्रमुख अधिकृतहरूले यी सबै विषयमा आफ्नो धारणा स्पष्ट रूपमा राख्दै हालसम्म भएका प्रयासहरू, भावी कार्ययोजना तथा समाधानका सम्भावित उपायहरूको बिषयमा जानकारी दिए।
प्रहरी नायब महानिरीक्षक उमाप्रसाद चतुर्बेदीले सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन प्रहरी संगठन प्रतिबद्ध रहेको बताए। उनले समुदायको सक्रिय सहभागिता र विश्वासबिना दिगो सुरक्षाको परिकल्पना गर्न नसकिने बताउँदै नागरिक समाज तथा व्यवसायीहरूसँगको सहकार्यलाई अझ सुदृढ बनाइने बताए।
त्यस्तै, सशस्त्र प्रहरी बलका डीआईजी कृष्ण ढकालले सिमावर्ती क्षेत्रमा हुने गैरकानुनी गतिविधि नियन्त्रणका लागि निगरानी र सुरक्षाका उपायहरूलाई थप व्यवस्थित बनाउने प्रतिबद्धता व्यक्त गरे। प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद रिसालले प्रशासनको भूमिकालाई नागरिकमैत्री र उत्तरदायित्वपूर्ण बनाउँदै लैजाने बताए।
कार्यक्रममा सहभागी विभिन्न संघसंस्थाका प्रतिनिधिहरूले सुरक्षा निकायहरूसँग सहकार्य गर्दै जाने प्रतिबद्धता जाहेर गरे। उनीहरूले सुरक्षालाई केवल सरकारको जिम्मेवारी मात्र नभई समुदायको साझा प्रयासको विषयका रूपमा लिँदै संयोजनमा आधारित सहकार्यको खाँचो औंल्याए।
यस कार्यक्रमले समुदाय र सुरक्षासंस्थाबीचको सम्बन्धलाई थप प्रगाढ बनाउँदै समन्वयात्मक कार्यशैलीको प्रवद्र्धन गर्ने विश्वास लिइएको छ। सहभागीहरूका अनुसार यस्ता कार्यक्रमहरूले आपसी बुझाइ र विश्वासको वातावरण सिर्जना गर्न सहयोग पु¥याउनेछन्।
