गोलबजारको बर्धमान अस्पतालमा सुत्केरी महिलाको मृत्यु, परिवारले लगाए, लापरवाहीको आरोप

आज्ञा खबर
सिरहा
सिरहाको गोलबजारमा अवस्थित बर्धमान अस्पतालमा एक सुत्केरी महिलाको उपचारका क्रममा मृत्यु भएको छ। मृतक मिर्चैया नगरपालिका–११, सीतापुर निवासी ३० वर्षीया रामकाशी यादव हुन्।

परिवारका अनुसार रामकाशीलाई शुक्रबार बिहान सुत्केरी व्यथा लागेपछि बर्धमान अस्पताल लगिएको थियो। दिउँसो १२ बजेतिर शल्यक्रिया (सिजेरियन) गरी छोराको जन्म भएको थियो। रामकाशी पहिले नै दुई छोरीकी आमा थिइन्।

शल्यक्रिया पश्चात स्वास्थ्य अवस्था बिग्रँदै गएपछि परिवारले उनलाई बाहिरी अस्पतालमा लैजाने आग्रह गरे पनि बर्धमान अस्पतालले तत्काल रिफर गर्न मानेन। परिवारले बारम्बार अनुरोध गर्दा पनि अस्पतालले ‘यतै ठिक हुन्छ’ भन्दै अलमल्याएको आरोप छ।

शनिबार बिहान २ बजेतिर मात्र उनलाई विराटनगरस्थित न्युरो अस्पतालमा रिफर गरिएको थियो। तर, बाटोमै उनको मृत्यु भएको र बिहान ५ः३० बजे उनलाई मृत घोषणा गरिएको मृतकका श्रीमान् सन्त यादवले जानकारी दिए।

उनले शल्यक्रियाका क्रममा अत्यधिक रगत बगेको र अस्पतालले समयमै प्रभावकारी उपचार गर्न नसकेको गुनासो गरे। “हामीले रगत पनि आफैं ल्यायौं तर अवस्था झन् बिग्रिँदै गयो,“ उनले भने, “रिफरका लागि पटक–पटक भन्यौं, तर हामीलाई रोकेर राखियो।“

शव पोस्टमार्टमपछि परिवारजनले अस्पताल अगाडि राखेर प्रदर्शन गरेपछि घटना तनावग्रस्त बनेको थियो। प्रहरीका अनुसार, प्रदर्शनपछि शल्यक्रिया गर्ने चिकित्सक तथा अस्पतालका सञ्चालक डा. तेजशंकर यादवलाई नियन्त्रणमा लिइएको छ।

इलाका प्रहरी कार्यालय, गोलबजारका प्रमुख प्रहरी निरीक्षक गोविन्दकुमार साहले घटनाको अनुसन्धान सुरु गरिएको जानकारी दिएका छन्। सो घटनाबारे आज्ञा खबरले प्रतिक्रिया लिन खोज्दा डा. यादवसँग सम्पर्क हुन सकेको छैन ।

रामकाशी यादवले जन्म दिएको नवजात शिशुको अवस्था भने सामान्य रहेको जनाइएको छ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...