राजविराज कारागारबाट कैदी फरार, सुरक्षा व्यवस्थामाथि प्रश्न

आज्ञा खबर
राजविराज
सप्तरीको राजविराजस्थित कारागारबाट एक जना कैदी फरार भएका छन्, जसले कारागार सुरक्षामाथि गम्भीर प्रश्न उठाएको छ। चोरी मुद्दामा जेल चलान भएका शम्भुनाथ नगरपालिका–११ का ३५ वर्षीय रामानन्द मण्डल गत वैशाख १४ गते राति कारागारबाट भागेका हुन्।

सोधपुछ अनुसार, उक्त राति हावाहुरी, चट्याङ र वर्षासँगै विद्युत् आपूर्ति अवरुद्ध भएपछि मण्डल भाग्न सफल भएका थिए। कारागार प्रमुख मातृकाप्रसाद दाहाल का अनुसार विद्युत् अवरुद्धको मौका छोपेर कैदी मण्डल फरार भएका हुन्।

रामानन्द मण्डल काठमाडौं जिल्ला अदालतमा विचाराधीन चोरी मुद्दामा एक लाख ४० हजार धरौटी तिर्न नसकेपछि कारागार चलान भएका थिए। उनलाई केन्द्रीय कारागार, काठमाडौंबाट २०८१ पुस ६ गते राजविराज कारागारमा सारिएको थियो।

प्रहरी खोजीमा, तर सफलता शून्य

सप्तरी प्रहरी प्रमुख ढकेन्द्र खतिवडा ले फरार कैदीको खोजी जारी रहेको जानकारी दिए पनि हालसम्म मण्डलको अवस्था अज्ञात छ। कारागार प्रशासन र प्रहरी दुवैका भनाइ एउटै भए पनि फरार कैदी पक्राउ नपर्नुले सुरक्षाको कमजोरी उजागर गरेको छ।

जीर्ण भवन, जनशक्ति अपुग

राजविराज कारागार नेपालकै पुरानो कारागारमध्ये एक हो। तर, यसको अवस्था दिन प्रतिदिन झनै दयनीय बन्दै गएको देखिन्छ। दुई बिघा १३ धुर क्षेत्रफलमा रहेको कारागारको करिब एक बिघा जग्गा अतिक्रमणमा परेको छ। केही वर्षअघि अतिक्रमण हटाउने प्रयास भएको भए पनि हाल त्यसमा कुनै पहल देखिएको छैन।

कारागार भवन जीर्ण भइसकेको छ। १सय५५ जनाको क्षमताको जेलमा हाल ३सय९८ जना कैदीबन्दी राखिएका छन्, जसमा पाँच जना महिला पनि छन्। आधुनिक सुरक्षाका उपायजस्तै सिसिटिभी क्यामेरा र जेनेरेटरको अभाव अझै पनि कायमै छ। विद्युत् अवरुद्ध हुँदा कर्मचारीले टर्च र इमरजेन्सी लाइटको भरमा निगरानी गर्नुपर्छ।

साधन र स्रोतको चरम अभाव

कैदी ओसार–पसारका लागि प्रयोग हुने कारागारको सवारीसाधन विग्रिएर महिनौंदेखि लहानमा थन्किएको छ। बजेटको अभावमा मर्मत गरेर पनि ल्याउन सकिएको छैन। कैदी बिरामी हुँदा सिटी रिक्सा प्रयोग गर्नु पर्ने बाध्यता कारागार प्रशासनका लागि दुःखद विषय बनेको छ।

कारागारमा १२ जना कर्मचारीको दरबन्दी भए पनि हाल ८ जना मात्रै कार्यरत छन्। प्रमुख दाहालले समस्याबारे केन्द्रीय कारागारलाई जानकारी गराइसकेको जनाउँदै यस आर्थिक वर्षमा चारैतिर काँडेतार र सिसिटिभी जडानका लागि मधेश प्रदेश सरकारसँग पहल भइरहेको जानकारी दिए।
राजविराज कारागारबाट कैदी फरार हुनु केवल एक व्यक्तिको भागदौड मात्र नभई समग्र कारागार प्रणालीको कमजोरीको द्योतक हो। सुधारको नाउँमा योजना बनाइए पनि त्यसको कार्यान्वयनको गति सुस्त हुँदा सुरक्षामा चुनौती थपिएको छ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...