आज्ञा खबर
रौतहट
केही समयअघि चन्द्रपुर नगरपालिका–२ जुडिबेला र वडा नं ३ गैडाटार क्षेत्रमा ’एमगज’ नामको जङ्गली हात्ती घाइते अवस्थामा देखिएको थियो। स्थानीयले उसप्रति अपार माया देखाउँदै खाना खुवाए, उपचारका लागि पहल गरे। त्यसैको परिणामस्वरूप हात्ती बाँच्यो, स्वस्थ हुँदै गयो। तर अहिले यही हात्ती स्थानीयको दुःखको कारण बनेको छ।
हात्तीले पछिल्लो समय घर भत्काउन, अन्न भण्डार नष्ट गर्न, कृषिबालीमा क्षति पुर्याउन थालेको छ। जुडिबेलाका सुनिप पोखरेल भन्छन्, “केहि समय अघिसम्म माया गरेर स्याहार गरेका थियौँ, अहिले भने कहिले आक्रमण गर्छ भन्ने त्रास छ।”
गत मङ्गलबार मात्र हात्तीले चन्द्रपुर–२ जोगिटोलकी एकल महिला फुलमाया कुँवरको घर ध्वस्त पारिदियो। ग्यास, चामलदेखि अन्य खाद्यान्नसमेत नष्ट ग¥यो। कुँवर भन्छिन्,“बिरामी बेला यसलाई खाना खुवायौँ, चिन्ता ग¥यौँ। अहिले उसैले हाम्रो बास उजाड्यो।”
उस्तै अवस्था मैया गिरी आले, मुक्तिनारायण चौधरी, खिकबहादुर पन्त, राजेन्द्र ठाकुर, रवीन्द्र लामा, माइला कँडेल लगायत दर्जनौँ स्थानीयको पनि भएको छ। वडाअध्यक्ष दुत्तबहादुर थिङका अनुसार जुडिबेलामा मात्र दुई दर्जनभन्दा बढी घर हात्तीको आक्रमणबाट क्षतिग्रस्त भएका छन्।
गैडाटार क्षेत्र पनि सुरक्षित छैन। वडाअध्यक्ष बोधनाथ देवकोटाका अनुसार त्यहाँका सन्तबहादुर रुम्बा, मीना राई, साइँला गोले, बलीमाया लोप्चनलगायतको घरमा पनि हात्तीले क्षति पु¥याएको छ।
पुलामीटोलका उत्तम खड्काले हात्ती हर्दिया खोलाको किनारमा दिउँसो बसेर राति गाउँ पस्ने गरेको बताए। यस कारण स्थानीय महिला र वृद्धवृद्धा घाँस दाउरा लिन जंगल जानसमेत डराइरहेका छन्।
सबैभन्दा दुःखद पक्ष भने गत कात्तिक १६ गते फतुवा विजयपुर–११ की ७० वर्षीया पातलीमाया तामाङको हात्तीको आक्रमणबाट ज्यान गएको हो।
स्थानीय निकाय र पर्सा राष्ट्रिय निकुञ्जको ध्यानाकर्षण गरिए तापनि हात्ती व्यवस्थापनमा कुनै ठोस पहल नभएको स्थानीयको गुनासो छ। नगर प्रमुख सञ्जयकुमार काफ्लेले भने क्षतिको राहत स्वरूप घर बनाउन युवाहरूको सहयोग जुटाउने र नगरपालिकाको तर्फबाट पनि केही आर्थिक सहयोग रहने बताएका छन्।





































