आज्ञा खबर
सर्लाही
सर्लाही जिल्लाको लालबन्दी नगरपालिका अन्तर्गत डुमडुमेस्थित नगर अस्पतालमा १७ वर्षपछि पुनः शव परीक्षण (पोष्टमार्टम) सेवा सुरु गर्ने तयारी गरिएको छ। पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पर्ने यस क्षेत्रमा हालसम्म कुनै अस्पतालमा यस्तो सेवा उपलब्ध नरहेकाले स्थानीयवासीलाई ठूलो समस्या हुँदै आएको छ।
विगतमा तत्कालीन प्राथमिक स्वास्थ्य केन्द्रमा सुरु गरिएको यो सेवा केही समयमै बन्द भएको थियो। त्यसयता सर्लाही जिल्लाको उत्तरी भेगका बासिन्दालाई शव परीक्षणका लागि करिब २५ किलोमिटर टाढा मलंगवास्थित प्रादेशिक अस्पताल धाउनुपर्ने बाध्यता रहँदै आएको छ।
नगरपालिकाले सेवा पुनः सुरु गर्नका लागि आवश्यक पूर्वाधार तथा उपकरणको व्यवस्था गरिसकेको जनाएको छ। यसै सन्दर्भमा, नगरप्रमुख बासुदेव अधिकारीको हस्ताक्षरसहित जिल्ला प्रशासन कार्यालयलाई पत्र लेखी गृह मन्त्रालयमार्फत आवश्यक सहयोग उपलब्ध गराउन आग्रह गरिएको छ। सोही क्रममा एक जना मेडिकल अधिकृतलाई तालिममा पठाइएको र सेवा सञ्चालनका लागि अस्पताल तयार रहेको नगरपालिकाले जनाएको छ।
सर्लाहीका प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठले पनि यस विषयमा चासो देखाउँदै अस्पताल निरीक्षणका लागि जिल्ला स्वास्थ्य कार्यालयबाट प्राविधिक टोली खटाइ प्रतिवेदन संकलन गरिने बताएका छन्।
यसैबीच, लालबन्दी क्षेत्रका सातवटा प्रमुख राजनीतिक दलका प्रतिनिधिहरूले पनि शव परीक्षण सेवा तत्काल सुरु गर्न माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई भेटेका छन्। उनीहरूले लालबन्दी, हरिवन, बागमती र ईश्वरपुर जस्ता क्षेत्रबाट अकाल मृत्यु हुने घटनामा पोष्टमार्टमको सुविधा नहुँदा थप पीडा भोग्नुपरेको गुनासो गरेका छन्।
नगर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चन्दन चौधरीका अनुसार अस्पतालको पछाडि रहेको भागमा पोष्टमार्टम कक्षको व्यवस्था गर्ने योजना बनाइएको छ। जेठको अन्तिमतिरदेखि सेवा सुरु गर्ने लक्ष्यसहित तयारी अगाडि बढाइएको उनले जानकारी दिए। डा. चौधरीका अनुसार मलंगवा लैजाँदा लाग्ने सवारी खर्च बराबरको न्यूनतम शुल्क मृतकका परिवारसँग लिई सेवा सञ्चालन गर्ने योजना छ।
पोष्टमार्टमपछि चिकित्सक, सहयोगी कर्मचारी र आवश्यक स्वास्थ्य सामग्रीहरूको व्यवस्थापनको लागि न्यूनतम शुल्क लिइने र प्रहरीको पनि सहयोग आवश्यक पर्ने भएकाले गृह मन्त्रालयसँग समन्वय गरिन लागेको हो।





































