सिरहामा संयुक्त बजार अनुगमन : दर्जनौं पसलहरूमा अनियमितता, कैयौंलाई जरिवाना

[sharethis-inline-buttons]

आज्ञा खबर
सिरहा
सिरहाको लहान बजार क्षेत्रमा गरिएको संयुक्त बजार अनुगमनका क्रममा दर्जनौं पसलहरू व्यवसाय सम्बन्धी कानुनी दायरामा नरहेको पाइएको छ। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्ज र इलाका प्रशासन कार्यालय लहानको नेतृत्वमा गरिएको अनुगमन टोलीले धेरैजसो पसल व्यवसाय दर्ता, नवीकरण, बिलबिजक र मूल्यसूचीविनै सञ्चालन भइरहेको निष्कर्ष निकालेको हो।

अनियमितता भेटिएका पसलमध्ये केहीलाई आर्थिक जरिवाना त केहीलाई चेतावनी दिइएको छ। अनिता जनरल स्टोर्सलाई २० हजार, समाया ट्रेडर्सलाई १५ हजार, श्याम इलेक्ट्रोलाई १० हजार र मा इन्टरप्राइजेजलाई ५ हजार रुपैयाँ जरिवाना तोकिएको छ।

यसै क्रममा महावीर वस्त्रालय, बाबा फेन्सी स्टोर्स, नितिस ट्रेडर्स एण्ड सप्लायर्स, विवेक शु सेन्टर, प्रिया जनरल स्टोर्स, ओम किराना, हरे कृष्ण इम्पेरियन र अर्चिड क्याफे जस्ता पसलहरूलाई पहिलोपटकका लागि चेतावनी दिइएको छ। इलाका प्रशासन कार्यालय लहानका प्रमुख गोकर्ण राज सुयाँलका अनुसार, उनीहरूलाई तीन दिनभित्र मूल्यसूची टाँस्न र आवश्यक कागजात पेश गर्न निर्देशन दिइएको छ। अटेर गरे कानुनी कारबाही गरिने उनको भनाइ छ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयका प्रतिनिधि मधुरेश प्रसाद साहका अनुसार, पहिलो चरणको अनुगमनमा अखाद्य वस्तु बिक्रीमा संलग्न व्यवसायीलाई सचेत गराइएको छ भने दोस्रो चरणदेखि कानुनी कारबाही अघि बढाइने छ। साथै, सुर्तीजन्य पदार्थ र मदिरा विक्रीका लागि इजाजतपत्र अनिवार्य गरिएको पनि उनले बताए।

उक्त अनुगमनमा घरेलु तथा साना उद्योग कार्यालय, जिल्ला उद्योग वाणिज्य संघ सिरहा लहान, शसस्त्र प्रहरीका प्रतिनिधिसमेत सहभागी थिए। संघका अध्यक्ष विकास सारडाले व्यवसायीहरूलाई दर्ता प्रमाणपत्र, स्थायी लेखा नम्बर, नापतौल प्रमाणीकरण तथा बिलबिजक अनिवार्य राख्न आग्रह गर्दै व्यवसाय कानुनअनुसार सञ्चालन गर्नुपर्ने बताए।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...