आज्ञा खबर
रौतहट
रौतहटको चुरे क्षेत्र र राष्ट्रिय वन अतिक्रमणको चपेटामा परेको छ। वन क्षेत्रमा तीव्र रूपमा पक्की संरचना निर्माण, खेती विस्तार र रूख फँडानी भइरहेको छ। सरकारी बेवास्ता र राजनीतिक हस्तक्षेपका कारण यस क्षेत्रमा अतिक्रमण नियन्त्रण चुनौतीपूर्ण बन्दै गएको छ।
चन्द्रपुर–३ को भोलनटार क्षेत्रमा डाँडामै बस्ती
चन्द्रपुर नगरपालिका–३ अन्तर्गत पर्ने भोलनटार क्षेत्रमा चुरे डाँडामै सयौं घर बनिसकेका छन्। स्थानीयका अनुसार पछिल्लो १४ वर्षदेखि जंगल मासेर स्थायी बस्ती विस्तार भइरहेको छ। यि स्थानहरुमा सुरुमा झुपडी निर्माण गरिने र विस्तारै पक्की घर बनाइने गरेको पाइन्छ।
राजनीतिक संरक्षणले कारबाही असफल
डिभिजन वन कार्यालय रौतहटका प्रमुख हेमन्त साहका अनुसार अतिक्रमणकारीहरू संगठित रूपमा सक्रिय छन् र उनिहरुप्रायः राजनीतिक दलहरूमा आबद्ध छन्। जस्का कारण हामीले रोक्न खोज्यौँ, तर राजनीतिक दबाबका कारण कारबाही गर्न सकिरहेका छैनौं,” साह भन्छन्।
रातारात फँडानी, संरचना निर्माण
स्थानीयले जानकारी दिएका अनुसार रातको समयमा चुरे क्षेत्रमा पसी रूख काट्ने, जमिन सम्याउने र घेराबेरा गर्ने काम हुँदै आएको छ। वृन्दावन नगरपालिकाको बलरी, गुजरा नगरपालिकाको मैरा क्षेत्र लगायतका ठाउँमा यस्तै गतिविधि दोहोरिएको देखिनछ।
३५०० हेक्टरभन्दा बढी वन अतिक्रमित
जिल्लाको २९,४०० हेक्टर राष्ट्रिय वन क्षेत्रमध्ये हालसम्म ३,५०० हेक्टरभन्दा बढी क्षेत्र अतिक्रमणमा परेको छ। २०७७ सालमा गैंडाटार क्षेत्रमा नियन्त्रणमा लिइएका १०० बढी व्यक्तिलाई कारबाही नगरी छाडिएको थियो, जसले अतिक्रमणकारीलाई थप प्रोत्साहन दिएको वन कार्यालयको निष्कर्ष छ।
जैविक विविधता संकटमा
मधेश प्रदेश वन मन्त्रालयका अधिकारी सुनिलकुमार कर्ण भन्छन्, “वन अतिक्रमणका कारण जैविक विविधता गुम्दै छ। माटो क्षरण, जलस्रोत सुक्ने, मरुभूमिकरण र जलवायु परिवर्तनको असर स्थानीय जनजीवनमा स्पष्ट देखिन थालेको छ।”
निर्वाचनले अतिक्रमणलाई बल
स्थानीय निर्वाचनको समयमा उम्मेदवारहरूले अतिक्रमण गरी बसोवास गर्नेहरूलाई नहटाउने प्रतिज्ञा गर्ने चलनले पनि समस्या जटिल बनाएको छ। वन कार्यालयले प्रयास गरे तापनि स्थानीय तहको निष्क्रियता र कानूनी कमजोरीले स्थिति नियन्त्रण बाहिर जाँदैछ।





































