आज्ञा खबर
बर्दिवास, महोत्तरीको बर्दिवास नगरपालिका–१४ स्थित एकिकृत नमुना मुसहर बस्तीमा बसोबास गर्दै आएका मुसहर परिवारहरूको अवस्था दिनानुदिन दयनीय बन्दै गएको छ। खासगरी स्थानीय मुसहर समुदायका एक परिवार तीन कोठाको साँघुरो घरमा १० देखी १५ जना सदस्यसहित बस्न बाध्य छन्, जसले उनीहरूको दैनिक जीवनलाई कष्टकर बनाएको छ।
श्रम गरेर गुजारा चलाउने यी परिवारको मुख्य समस्या भनेको आवासको अभाव हो। २०७४ सालमा धुर्मुस सुन्तली फाउन्डेशनले बनाइदिएको तिन कोठे घर आहिले बर्दिवास १४ का मुसहर समुदायलाई नखाउँ भने दिनभरीको शिकार खाउँत कान्छो बुवाको अनुहार जतिकै भएको छ ।
बस्तीका घरहरुको छानो जस्ताले छाएका कारण गर्मीमा तातिन्छ र जाडोमा कठ्याङ्ग्रिन्छ। घरमा छुट्टै सुत्नका लागि पर्याप्त ओछ्यान नहुँदा बालबालिकादेखि वृद्धसम्म एउटै कोठामा खुम्चिएर बस्नुपरेको समस्या समेत रहेको छ।
“हामी १० देखी १५ जना एउटै घरमा बस्नुपरेको छ। सुत्न त के, बच्चाहरू पढ्न पनि पाउँदैनन्,“ भन्छिन् ६० वर्षीया रामकली देवी। उनका अनुसार घरमा बाबु–आमा, छोरा–बुहारी, नातिनातिनी सबैजना एकै ठाउँमा बस्दै आएका छन्। धेरै सदस्य हुँदा खाना पकाउने ठाउँ समेत साँघुरो भएको उनी बताउँछिन्।
शिक्षा, स्वास्थ्य, सरसफाइजस्ता आधारभूत सेवाको पहुँचबाट समेत टाढा रहेका यी समुदायका अधिकांश बालबालिका विद्यालय जान पाउँदैनन्। “बिहानै काममा जानुपर्ने, बेलुका अबेर फर्कने हुनाले पढ्न कहाँ सम्भव?“भन्छन् बस्तिीका अगुवा बिल्टु सदा उनी दैनिक ज्यालादारीमा काम गरेर परिवारको खर्च धान्ने गर्छन्।
बस्तिमा स्थानीय तह लगायत माथिल्लो दुबै तहको सरकारको समेत ध्यान पुग्न नसकेको भन्दै समुदायका सदस्यहरू गुनासो गर्छन्। केही सामाजिक संस्था र स्वयमसेवी समूहहरू पुगेर सानातिना सहयोग गरेपनि दीर्घकालीन समाधानको योजना नबनाइएकाले समस्या ज्यूँकात्यूँ रहेको उनीहरूको भनाइ छ।
यसैक्रममा ८ महिना अघि बर्दिवास नगरपालिका–१४ का वडा अध्यक्ष तथा नगर प्रबक्ता बिजय कुमार महतोले मुसहर समुदायका लागि आवास,शिक्षा र स्वास्थ्यका विषयमा पहल गर्ने बताएका थिए उनले नगरपालिकाको आगामी बार्षिक योजनामा उनीहरूको जीवनस्तर उकास्ने प्रयास हुनेछ भनेर आज्ञा खबरको युटुब च्यानल मार्फत मुसहर समुदायलाई आस्वास्त पारेका थिए ।
तर अहिलेसम्म त्यस्तो प्रयासको ठोस परिणाम देखिन नसकेको भन्दै समुदायमा निराशा छ। आवासको अभाव, रोजगारको अस्थिरता, शिक्षाको पहुँच नहुनु र स्वास्थ्य सुविधाको कमीले गर्दा यी समुदायहरू दैनिक जिबन यापनको लडाइँमा अल्झिरहेका छन्।
यसरी बर्दिवास–१४ का मुसहर समुदायका ५३ परिवार न्यूनतम सुविधाबाट समेत बञ्चित छन्। यो समुदायको जिबन स्तर उकास्न स्थानिय सरकारले बिभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरूको समन्वयमा दीर्घकालीन योजना र स्थायी समाधानको कार्यन्वयन नगरेसम्म उनीहरूको अवस्था सुधार हुने देखिँदैन।





































