आज्ञा खबर
सिरहा
पूर्वपश्चिम राजमार्गअन्तर्गत कञ्चनपुर–कमला सडक विस्तारको क्रममा सिरहाको लहान चोकमा ओभरपास निर्माण कार्य सुरु गरिएको छ। निर्माण कार्य चाइना रेलवे–२ इञ्जिनियरिङ ग्रुपले अघि बढाएको हो।
सप्तरीको कञ्चनपुरदेखि सिरहाको कमलासम्मको ८६.८३ किलोमिटर सडक विस्तार परियोजनाअन्तर्गत पश्चिम खण्ड (बलानदेखि कमला) को ४७ किलोमिटरमध्ये ६२ प्रतिशत काम सम्पन्न भइसकेको छ। लहान चोकस्थित शहीद स्मारक हटाएसँगै ओभरपास निर्माण कार्यसुरु गरिएको हो।
कञ्चनपुर–कमला सडक आयोजना अन्तर्गत पश्चिम खण्डका सूचना अधिकारी सरोज कोइरालाका अनुसार अन्तर्राष्ट्रिय मापदण्डअनुसार ३२ मिटर चौडाइका दुई ओभरपास निर्माण हुँदैछ। तीमध्ये एक लहान चोकमा र अर्को मिर्चैया चोकमा निर्माण भइरहेका छन्।
यस सडक खण्डमा पाँचवटा अण्डरपास पनि निर्माणाधीन छन्, जसमा लहान क्षेत्रभित्रका अण्डरपासहरू तीव्र गतिमा निर्माण भइरहेको जनाइएको छ।
आयोजनाको कुल लागत १५ अर्ब ६६ करोड ४४ लाख रुपैयाँभन्दा बढी छ। पूर्वी खण्ड (कञ्चनपुरदेखि कुशहा) को ३९ किलोमिटर सडक स्तरोन्नतिको ठेक्का सात अर्ब २७ करोड रुपैयाँमा सम्झौता गरिएको छ। उक्त खण्डमा करिब ६० प्रतिशत भौतिक काम सम्पन्न भइसकेको छ।





































