आज्ञा खबर
राजविराज
चालु आर्थिक वर्षको नौ महिना बितिसक्दा पनि राजविराज भन्सार कार्यालयले निर्धारित राजस्व लक्ष्यको केवल ५५ प्रतिशत मात्र संकलन गर्न सफल भएको छ। कार्यालयले यस वर्ष कुल ८ करोड ८१ लाख ७९ हजार रुपैयाँ संकलन गर्ने लक्ष्य राखेको थियो, तर चैत मसान्तसम्म जम्मा ४ करोड ८५ लाख ७२ हजार १ सय ३८ रुपैयाँ मात्र उठ्न सकेको छ।
अघिल्लो आर्थिक वर्षको तुलनामा यो प्रगति निकै कमजोर देखिएको छ। गत वर्ष भन्सारले चैतसम्ममा लक्ष्यको ८६ प्रतिशत अर्थात् ५ करोड ६२ लाख २ हजार रुपैयाँ राजस्व संकलन गरेको थियो। वर्षको अन्त्यसम्ममा उक्त संकलन लक्ष्यको १२४ प्रतिशत पुगेर ८ करोड ७ लाख ४७ हजार रुपैयाँ पुगेको थियो।
चालु वर्षको मासिक संकलन विवरण हेर्दा साउनमा ३८ लाख ८८ हजार, भदौमा १९ लाख ३८ हजार, असोजमा ६८ लाख ४६ हजार, कात्तिकमा ८७ लाख ७१ हजार र मंसिरमा ५१ लाख २६ हजार रुपैयाँ राजस्व संकलन भएको छ। त्यसपछि पुसमा ६८ लाख ८९ हजार, माघमा ३० लाख ४४ हजार, फागुनमा ३४ लाख २९ हजार र चैतमा ८६ लाख ३६ हजार रुपैयाँ संकलन गरिएको छ।
राजबिराज भन्सार कार्यालयका अधिकृत सत्यनारायण सिंहले राजस्व संकलनमा आएको गिरावटको प्रमुख कारण भारतसँग जोड्ने सडकको पुल अझै निर्माण भईनसकेको बताए। ‘जनवरी र फेब्रुअरीमा भारतीय पक्षले नेपालतर्फको भन्सार सञ्चालन नगरेका कारण आयात–निर्यातमा अवरोध भयो’, सिंहले भने, ‘साथै, सीमानाकामा चोरी पैठारी बढ्नुले पनि राजस्वमा असर परेको हो।’
उनले कार्यालय लक्ष्य पूरा गर्न प्रतिबद्ध रहेको र बाँकी महिनामा संकलन बढाउने प्रयास जारी रहेको जानकारी गराए।
