आज्ञा खबर
सर्लाही
नेपाली कांग्रेसका वरिष्ठ नेता विमलेन्द्र निधिले सङ्घीय लोकतान्त्रिक व्यवस्थाप्रतिको सबभन्दा गहिरो प्रतिबद्धता कांग्रेस पार्टीमै रहेको बताएका छन्।
सर्लाहीको हरिवन नगरपालिका–२, अत्रौलीमा सहिद सुखदेव महतोको सालिक अनावरण कार्यक्रममा बोल्दै उनले लोकतन्त्र र सङ्घीयताको रक्षा कांग्रेसको प्रमुख सरोकार रहेको स्पष्ट पारे। “यो व्यवस्था टिकाउन सके मात्र सहिदको बलिदानको सम्मान हुन्छ,“ नेता निधिले भने, “कांग्रेसले धेरै सहेर पनि यो प्रणाली जोगाइरहेको छ।“
संयुक्त सरकारको सन्दर्भमा उनले सबै निर्णय आफ्नो पार्टीकै अनुकुल हुन नसक्ने बताए। पार्टीबाट निर्वाचित जनप्रतिनिधि र कार्यकर्तालाई उनले २०८४ को निर्वाचनलाई लक्षित गरेर एकजुट भएर काम गर्न आह्वान गरे।
नेता निधिले आगामी १३ महिनापछि नेकपा (एमाले) सँगको सात बुँदे सहमति अनुसार पार्टी सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने र त्यसपछि कांग्रेसले अघि सारेका योजनाहरू कार्यान्वयनगर्न सहजता आउने बताए।
मधेस प्रदेशमा पछिल्लो समय देखिएको योजना छनोटसँग सम्बन्धित विवादप्रति चिन्ता व्यक्त गर्दै उनले जनप्रतिनिधिलाई बदनामी फैलाउने गतिविधिबाट टाढा रहन आग्रह गरे।
कार्यक्रममा २०५९ साल वैशाख २१ गते तत्कालीन विद्रोही समूहद्वारा हत्या गरिएका कांग्रेस नेता एवं पूर्व अत्रौली गाविस अध्यक्ष सुखदेव महतोको सालिक अनावरण गरिएको नेपाली कांग्रस सर्लाहीले जनाएको छ
सो अवसरमा कांग्रेसका मधेस प्रदेशसभा सदस्य वीरेन्द्र सिंह, गङ्गीलाल राय, पूर्वमन्त्री शम्भु श्रेष्ठ, जिल्ला सभापति सुरेन्द्र सिंह लगायत नेता तथा कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो।





































