अलपत्र कमला पुलः निर्माण कम्पनीसँगको सम्झौता तोड्ने तयारीमा निर्देशनालय

[sharethis-inline-buttons]

आज्ञा खबर
सिरहा
हुलाकी राजमार्गअन्तर्गत सिरहा र धनुषा जोड्ने कमला नदीको पुल १३ वर्षदेखि अधुरो रहँदै आएको छ। पुल निर्माणमा जिम्मेवार ठेकेदार कम्पनी ‘लुम्बिनी बिल्डर्स’ले पछिल्लो समय काम रोकिदिएपछि अब सरकार ठेक्का सम्झौता तोड्ने तयारीमा लागेको हो।

हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय जनकपुरका अनुसार पुलको पुनर्निर्माण कार्य आगामी असार मसान्तसम्म सम्पन्न गर्न अन्तिम पटक म्याद दिइएको थियो। तर, कम्पनीले एक महिनाअघिदेखि कुनै काम नगरेको र म्याद थपका लागि निवेदन समेत नदिएको कार्यालयका योजना प्रमुख कृष्णकुमार महतोले जानकारी दिए।

“सम्झौता अनुसार असार मसान्तसम्म काम सकिनुपर्ने थियो, तर निर्माण कम्पनीले एक महिनाअघि देखिनै काम बन्द गरेको छ। त्यसैले हामीले सम्झौता तोड्न र कारबाहीका लागि केन्द्रमा सिफारिस गरेका छौं,“ महतोले भने।

यसअघि पनि पुल निर्माणमा विवाद रहँदै आएको थियो। निर्माणको क्रममा पुलका दुई पाँजाहरू भासिएपछि ठेकेदार कम्पनीले बीमाबाट क्षतिपूर्ति मागेको थियो। तर, बिमा कम्पनीसँग विवाद उच्च अदालत पाटनसम्म पुगेको थियो। अहिले त्यो मुद्दा विचाराधीन अवस्थामा रहेकाले निर्देशनालयले कानुनी सल्लाह लिएर अगाडि बढ्ने तयारी गरिरहेको छ।

लुम्बिनी बिल्डर्सका साइट इञ्चार्ज सुदीप थापाले भने आर्थिक अभावका कारण काम रोकिएको बताए। “बाढीले क्षति पु¥याएपछि हामीले बिमाबाट ८ करोड रुपैयाँ माग गरेका थियौं। त्यो रकम नपाएकाले बाँकी काम रोक्नुपरेको हो,“ उनले स्पष्ट पारे।

कमला पुलको निर्माण सन् २०११ (वि.सं. २०६८) मा सुरु गरिएको थियो। तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य भए पनि १३ वर्षसम्म पनि पुल अपूरो छ। यसअघि ‘पप्पु कन्स्ट्रक्सन’ले सुरु गरेको पुल निर्माण काम समयमै नसकिएपछि त्यो कम्पनीलाई कालोसूचीमा राखिएको थियो। त्यसपछि बाँकी काम लुम्बिनी बिल्डर्सले लिएको हो।

स्थानीयवासीहरूका लागि यो पुल दैनिक सास्तीको स्रोत बनेको छ। सिरहा नगरपालिका–६ का वडाध्यक्ष इन्द्रजित यादवका अनुसार बर्खायाममा काठेपुल बगाउँदा जनतालाई डुङ्गा चढेर जोखिम मोल्नुपर्ने अवस्था छ। साथै, जनकपुर पुग्नको लागि भारतीय बजार हुँदै जानुपर्ने बाध्यता र वैकल्पिक घुमाउरो बाटोले तीन घण्टा समय लाग्ने गरेको उनले बताए।

हुलाकी सडकलाई मधेसको “लाइफ लाइन“ मानिएको छ। तर, कमला नदीमा आएको बाढी र निर्माण कम्पनीहरूको लापरवाहीले राष्ट्रिय गौरवको यो आयोजना अझै अधुरो छ। पुल कहिले बनिसक्ने हो भन्ने अनिश्चितता अझै कायमै छ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...