आज्ञा खबर
सर्लाही
महोत्तरी,सर्लाही र रौतहट जिल्लाभित्रपर्ने सागरनाथ वन विकास परियोजनाका कर्मचारी र मजदुरले विगत ११ महिनादेखि तलब पाउन सकेका छैनन् । सरकारले वन पैदावार विकास समितिको अध्यक्ष नियुक्त गर्न बेवास्ता गर्दा सर्लाही, महोत्तरी र रौतहटमा फैलिएको सागरनाथ वन विकास परियोजना र झापामा रहेको रतुुवामाई वृक्षारोपण आयोजनाका कर्मचारी समेत लामो समयसम्म तलबविहीन हुनुुपरेको हो ।
गएको वैशाख महिनादेखि तलब नपाउँदा कार्मचारीर मजदुरहरुले चाडवाड मनाउन, छोराछोरी पढाउन, औषधी उपचार गर्न र दैनिक छाक टार्न ऋण लिनुपरेको कर्मचारी र मजदुरले गुनासो गरेका छन् । उनीहरूले तलब माग गर्दै वन तथा वातावरण मन्त्री र नेपाल सरकारका मुख्यसचिवलाई पत्र काटेर हारगुहार गरेका छन् ।
वन पैदावार विकास समिति र वन तथा वातावरण मन्त्रालयबाट आवश्यक नीतिगत निर्णय नहुँदा ११ महिनासम्म तलब नपाएको परियोजनाको मजदुर युनियनका अध्यक्ष सन्तोष साह तेलीको गुनासोरहेको छ । मजदुर र कर्मचारीको बेग्लाबेग्लै सङ्गठनले सरकारलाई पत्र पठाउँदै तत्काल तलबको व्यवस्था गरिदिन माग गरेका हुन् ।
सागरनाथ वन विकास परियोजना सर्लाही, महोत्तरी र रौतहट गरी तीन जिल्लाको १३ हजार ५१२ हेक्टर क्षेत्रफलमा फैलिएको छ । सङ्घ वा प्रदेश सरकार कस्को मातहत रहने भन्ने विवादको चङ्गुलमा फसेको यो परियोजनामा कार्यरत निजामती कर्मचारी र मजदुरले पछिल्ला केही वर्षदेखि यसैगरी महिनौसम्म तलबविहीन भएर काम गर्न बाध्य भइरहेका छन् ।
यसैगरी परियोजनाका कर्मचारी र मजदुरले एक हप्ताभित्र तलब नपाए हड्तालमा उत्रने चेतावनी दिएपछि परियोजनाका प्रमुख खेमलाल विश्वकर्मा वन तथा वातावरण मन्त्रीसँग भेट गर्न सङ्घीय राजधानी काठमाडौं पुुगेका छन ।
परियोजनाका प्रमुख विश्वकर्माले गएको भदौदेखि वन पैदावार विकास समिति अध्यक्षविहीन रहेकाले नीतिगत निर्णय हुन नसक्दा कर्मचारी र मजदुर करिब एक वर्षसम्म तलबविहीन भएर बस्नुुपरेको बताए ।
परियोजना प्रमुख भएर आएपछि विश्वकर्मा ले५० क्यूबिकफिट काठ बिक्री गरेर डिजेल र पेट्रोलको पुरानो पैसा तिरेको र कर्मचारीलाई केही महिनाको तलब समेत खुवाए पनि त्यसपछि भने सङ्घीय सरकार मातहतको वन पैदावार विकास समिति नै पदाधिकारीविहीन बनेपछि तलब निकासा, परियोजनामा भएका काठ बिक्री तथा काठ कटानको काम ठप्प भएको उनको भनाई छ । सागरनाथ वन विकास परियोजनामा ९३ जना ज्यालादारी मजदुर र ४१ जना कर्मचारी कार्यरत रहेका छन् ।





































