आज्ञा खबर
रौतहट
अबैध अस्पताल सञ्चालन बन्दको निर्देशनलाई अटेरी गर्दै अस्पताल सञ्चालनगर्दै आएका रौतहटको शिवनगर स्थित आनन्द हस्पिटल तथा एक्युपञ्चर सञ्चालक डाक्टर उमेश प्रसाद साह पक्राउ परेका छन्।
मधेश प्रदेशका मुख्यमन्त्री सतीश कुमार सिंहको निर्देशनमा जिल्ला प्रहरी प्रमुख एसपी दिलीप घिमिरेको निर्देशनमा इलाका प्रहरी कार्यालय शिवनगरका प्रमुख सई बब्लुकान्त झाको नेतृत्वमा गएको टोलीले उनलाई उनको हस्पिटलबाट बुधवार पक्राउ गरेको हो।
पक्राउ परेका डाक्टर साहलाई तत्कालै आवश्यक कारबाहीको लागि प्रहरीकै गाडीमा राखेर जिल्ला प्रहरी कार्यालय गौर तर्फ पठाइएको रौतहट प्रहरी प्रमुख एसपी दिलीप घिमिरेले जानकारी दिए ।
उनलाई नियन्त्रणमा लिएर अनुसन्धानपछि उचित कार्यवाही गरिने एसपी घिमिरेले जानकारी दिएका छन्।
मुख्यमन्त्री सिंहले दुईसाता अघि अनुगमनको क्रममा आनन्द हस्पिटल मापदण्ड विपरीतसञ्चालनमा रहेको पाइएपछि बन्द गर्न निर्देशन दिएका थिए।
मापदण्ड पुरा गरेपछि मात्र हस्पिटल सञ्चालन गर्ने भनी मुख्यमन्त्री सिंहले दिएको निर्देशनलाई आनन्द हस्पिटल शिवनगरका सञ्चालक उमेश प्रसादले अटेरी गरी निर्बाध रुपमासञ्चालन गर्दै आएका थिए।
नियमानुसार व्यवस्थापन नहुन्जेलसम्म पुराना बिरामीलाई अन्य हस्पिटलमा सारेर उपचार गर्ने तथा आनन्द हस्पिटलले उपचार खर्च दिनुपर्ने हुन्छ।
तर त्यसको विपरीत डाक्टर साहले पुरानो बिरामीको आफ्नै हस्पिटलमा उपचार गर्नुका साथै नयाँ बिरामीलाई समेत त्यसै हस्पिटलमा भर्ना गरी उपचारको नाउँमा लुट मच्चाउँदै आएको प्रत्यक्षदर्शीले बताएका छन्।
पछिल्लो दुई दशक देखि उमेश प्रसादले अवैध हस्पिटल सञ्चालन गरी लकवा प्यारालाइसिस रोगको उपचारको नाउँमा खुलेयाम लुट मच्चाउँदै आएका छन्।
मुख्यमन्त्री सिंहले गरेको अनुगमनको क्रममा शिवनगर, गरुडा, र चन्द्रपुरमा मापदण्ड विपरीत सञ्चालनमा रहेको डेढ दर्जन हस्पिटल तत्काल बन्द गर्न निर्देशन दिएका थिए





































