रिंकु सदा हत्या प्रकरण : गृहले सार्वजनिक गर्‍यो छानबिन समितिको अनुसन्धान प्रगति विवरण

आज्ञा खबर
सिरहा
सिरहाको रिंकु सदा हत्याको विषयमा अनुसन्धान गर्न बनेको छानबिन समितिको अनुसन्धान प्रगति विवरणलाई मधेस सरकारको गृह संचार तथा कानून मन्त्रालयले शुक्रवार सार्वजनिक गरेको छ । गृह संचार तथा कानून मन्त्री राजकुमार लेखीले एक पत्रकार सम्मेलनको आयोजना गरी सो विवरण सार्वजनिक गरेका हुन् ।

सार्वजनिक गरेको विवरणमा सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुर तामासुइया टोलकी १७ वर्षीया किशोरी रिंकुकुमारी सदाको मृत्यु प्रकरणमा पूरक जाहेरी परेको छ ।

यसअघि स्थानीय एक युवक रुपेश मण्डलविरुद्ध आत्महत्या दुरुत्साहनको जाहेरी दिएको परिवारले अहिले थप व्यक्तिलाई प्रतिवादी बनाउँदै बलात्कारको कसुरमा अनुसन्धान गर्नुपर्ने माग राखेर पूरक जाहेरी दिइएको हो ।
रिङ्कु सदा मृत्यु प्रकरणमा जबरजस्ती करणीसहित चार मुद्दामा अनुसन्धान भईरहेको छ।

बलात्कार आत्महत्या दुरुत्साहन गरी दुई कसुरमा जाहेरी आएको छ । जसमा यसअघि बलात्कारको आरोप लागेको भनिएका युवकदेखि छलफलमा सहभागीहरूलाई प्रतिवादी बनाइएको छ । अहिलेसम्म ८ जनाविरुद्ध जाहेरी परेको छ । प्रतिवेदन अनुसार रिंकुको बलात्कारपछि हत्या गरिएको थियो ।

रिंकुकुमारी ३० माघ राति ७ बजेतिर आफ्नै घरमा झुन्डिएको अवस्थामा मृत भेटिएकी थिइन् । त्यो भन्दा अघिका घटनाक्रमले भने उनको मृत्यु शंकास्पद रहेको देखाएको थियो ।

आमा सीतादेवी र भाइ भुलासँग बस्दै आएकी रिंकुकुमारी २६ माघ राति करिब ९ बजेतिर शौच गर्न भनेर बाहिर निस्केकी थिइन् । तर ६ घण्टासम्म घर नफर्किएकी उनी २७ माघ बिहानीपख ३ बजेतिर रोइरहेको अवस्थामा घरबाहिर फेला परेकी थिइन् ।

६ घण्टा बेपत्ता भएर घर फर्केपछि उनले परिवारलाई आफूमाथि सामूहिक बलात्कार भएको बताएकी थिइन् । परिवारका सदस्यका अनुसार रिंकुले आफूलाई स्थानीय रुपेश मण्डल, टिंकु मण्डल र चन्दन साहेलाले बलात्कार गरेको दाबी गरेकी थिइन् ।

मृत्यु हुनुअघि रिंकुले आफूमाथि सामूहिक बलात्कार भएको बताएपछि घटना सामसुम पार्न गाउँमै पञ्चायती सभा समेत बसेको थियो । घटना दबाउन २९ माघमा गाउँमा पञ्चायती बसेको हो । पञ्चायती बसेको विषय पुष्टि भएको प्रहरीले जनाइसकेको छ ।

बलात्कारको विषय बाहिर आएपछि मधेश प्रदेशका एसएसपी शान्तिराज कोइरालाको नेतृत्वमा छानबिन समिति नै गठन गरिएको थियो ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...