आज्ञा खबर
पर्सा
प्रहरीले लागूऔषध गाँजा सहित मालवाहक ट्रकलाई नियन्त्रणमा लिएको छ । वीरगन्ज महानगरपालिका–१८ भवानीपुर सिताराम चोकस्थित प्लास्टिक कारखाना अगाडि आइतबार राति करिब साढे ९ बजे ना ३ ख ४२१२ नम्बरको ट्रकबाट १ सय ६० किलो गाँजा बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा परानीपुरबाट सुक्खा बन्दरगाह तर्फ आउँदै गरेको सो ट्रकलाई रोकेर जाँच गर्दा हुटमा फल्स बटम बनाई रातो प्लास्टिकमा बेरी लुकाइछिपाइ राखिएको प्रतिपोका १० किलोको दरले १६ पोकामा रहेको १ सय ६० किलो लागूऔषध गाँजा फेला परेको थियो ।
ट्रक चालक मकवानपुर हेटौंडा उमनपा–७ कमानेका ४४ वर्षीय कृष्ण घलान र सहचालक चितवन झुरझुरे राप्ती नगरपालिका–३ का २० वर्षीय रोनाल विश्वकर्मालाई नियन्त्रणमा लिई लागू औषधिसम्बन्धी कसुरमा कारबाही अघि बढाइएको पर्सा प्रहरीका प्रवक्ता डीएसपी किशोर लम्सालले जानकारी दिए ।





































