आज्ञा खबर
जनकपुरधाम
मधेस प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले लभ मेडिकल हललाई दुई करोड ८९ लाख ९५ हजार आठ सयको १२ वटा ’मर्चरी रेफ्रिजेरेटर’को टेन्डर दिएको थियो। यो शव नबिग्रियोस् भनेर राखिने एक किसिमको फ्रिज हो।
तर, शव राख्ने ’मर्चरी रेफ्रिजेरेटर’को टेन्डर पाउने लभ मेडिकल हलले बदमासी गरेपछि भुक्तानी रोकियो। तर कारबाही भने भएन।
लभ मेडिकल हलले ’मर्चरी रेफ्रिजेरेटर’ ल्यायो। ’मर्चरी रेफ्रिजेरेटर’ आइसकेपछि चेकजाँच गर्दा टेन्डर गर्दाको प्राविधिक स्पेसिफिकेशन र सप्लायर्सले टेन्डर प्रस्ताव गर्दा कबुल गरेको मापदण्ड अनुसारको ’मर्चरी रेफ्रिजेरेटर’ थिएन त्यो। गलत सामान ल्याएको भनेर मधेस प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले भुक्तानी रोकिदियो। तोकिएको अवधिभित्र कबुल गरे अनुसारको सामान नल्याएको हकमा कम्पनीमाथि कारबाही हुनुपर्ने हो। तर कारबाही गरेन मधेस प्रदेशले।
मधेस प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका निर्देशक डा. मनिष पाण्डेले लभ मेडिकल हलले स्पेसिफिकेशन अनुसार कबुल गरेको मापदण्ड अनुसारको ’मर्चरी रेफ्रिजेरेटर’ नल्याइदिएकाले भुक्तानी रोकिएको बताए।
चेकजाँचमा स्पेसिफिकेशन अनुसारको ’मर्चरी रेफ्रिजेरेटर’ नआएपछि बायोमेडिकल इन्जिनियरबाट पीडीआई रिपोर्ट आएन। अनि भुक्तानी रोकिएको उनले बताए।
‘अन्तिम समयमा त्यस (मर्चरी रेफ्रिजेरेटर)को पेमेन्ट हुन सकेन,’ केन्द्रका निर्देशक डा. पाण्डेले उकेरासँग भने, ‘पीडीआई हुँदा त्यसको सक्सेस भएन। त्यसै कारणले त्यसको पेमेन्ट हुन सकेन।’
चेकजाँच गर्दा फेला पर्यो बदमासी
खरिद भएको सामग्री आइसकेपछि त्यो सामग्री टेन्डर भएको स्पेसिफिकेशन अनुसार छ छैन भनेर चेकजाँच गरिनुलाई पीडीआई (पोस्ट डेलिभरी इन्स्पेक्शन) भनिन्छ। विशेषगरी बायोमेडिकल इन्जिनियर लगायतको टिमले यस्तो चेकजाँच गर्नुपर्ने हुन्छ।
‘म कहाँ पीडीआई रिपोर्ट आएपछि पेमेन्ट गर्ने हो,’ डा. पाण्डेले भने, ‘बायोमेडिकल इन्जिनियरबाट हामीकहाँ पीडीआई रिपोर्ट आइपुगेन। त्यसैले पेमेन्ट रोकियो।’
निर्देशक डा. पाण्डेले ’मर्चरी रेफ्रिजेरेटर’को अब भुक्तानी हुन नसक्ने जानकारी दिए।
‘अब भुक्तानी हुँदैन। बजेट छँदै छैन, कहाँबाट दिने भुक्तानी,“ उनले भने, “हामीले भुक्तानी गरेका छैनौँ।’
भुक्तानी रोकिनु एक पक्ष भयो। तोकिएको मापदण्ड अनुसारको सामान नल्याउनेलाई सार्वजनिक खरिद कानुन अनुसार थप कारबाही समेत हुन्छ। तर सो सप्लायर्समाथि कुनै कारबाही भएको देखिएन।
कबुल गरेको ’मर्चरी रेफ्रिजेरेटर’ नल्याइदिने लभ मेडिकल हललाई कारबाही गर्ने कि नगर्ने भन्ने विषयमा छलफल नभएको निर्देशक डा. पाण्डे बताउँछन्।
‘त्यसमा के प्रक्रिया हुन्छ कि हुँदैन एकचोटी हेर्नुपर्ला,’ निर्देशक डा. पाण्डेले भने, ‘अब के हुन्छ, त्यसको त अहिले भन्न सक्दिन।’
यसरी बढेको थियो खरिद प्रक्रिया
मधेस प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र २०८० माघ २१ गते (०४ फेब्रुअरी, २०२४) मा ’मर्चरी रेफ्रिजेरेटर’को टेन्डर गरेको थियो। केन्द्रले ’मर्चरी रेफ्रिजेटर, ६–च्याम्बर’ दुई वटा र ’मर्चरी रेफ्रिजेटर, ४–च्याम्बर’ दश वटा गरी १२ वटा ’मर्चरी रेफ्रिजेरेटर’ खरिदका लागि टेन्डर गरेको थियो। केन्द्रका निर्देशक डा. पाण्डेले प्रदेशका विभिन्न अस्पतालका लागि ’मर्चरी रेफ्रिजेरेटर’को टेन्डर गरेको जानकारी दिए।
मधेस प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले मर्चरी रेफ्रिजेरेटर खरिदका लागि भएको टेन्डरको ’प्रिबिड मिटिङ’ फागुन ११ गते (२३ फेब्रुअरी, २०२४) लाई तोकिएको थियो। फागुन २२ गते (०५ मार्च २०२४) सम्ममा टेन्डर प्रस्ताव गरिसक्नुपर्ने मिति तोकिएको थियो भने सोही दिनलाई नै टेन्डर खुल्ने मिति तोकिएको थियो।
श्रोत उकेरा अनलाईन





































