आज्ञा खबर
बर्दिवास
मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले शनिबार राति ११ बजे प्रादेशिक अस्पतालको निरीक्षण गरेका छन् । बिरामीको उपचारमा ढिलासुस्ती र हेलचेक्रयाइँ भइरहेको गुनासो आएपछि उनले मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको जनकपुरधामस्थित प्रादेशिक अस्पतालको आकस्मिक कक्ष, प्रसूति गृह, अति सघन कक्षलगायत निरीक्षण गरी ‘ड्युटी’मा रहेका चिकित्सक तथा स्वास्थ्यकर्मीसँग अस्पतालमा कार्यरत जनशक्तिको सङ्ख्या र कार्यविभाजन, काम गर्ने अवधिबारे जानकारी लिएको बताईएको छ ।
संहले अस्पतालमा कार्यरत जनशक्तिलाई तोकिएको समयसम्म नियमित र तत्परताका साथ काम गर्न निर्देशन समेत दिएका छन् । कामका लागि निर्धारित सङ्ख्या र समयावधिमा चिकित्सक, स्वास्थ्यकर्मी तथा अन्य कर्मचारी नियमित खटिनुपर्ने र बिरामीको उपचारमा कुनै किसिमको लापरवाही नगर्नसमेत उनले निर्देशन दिए ।
मुख्यमन्त्री सिंहले अस्पताल परिसरमा सञ्चालित सरकारी फार्मेसीमा आवश्यक र उचित औषधि राख्न, सूचीअनुसार औषधि अभाव हुन नदिन सम्बन्धित कर्मचारीलाई निर्देशन दिएका छन् । निरीक्षणका क्रममा बिरामी र तिनका कुरुवासँग अस्पतालका सेवासुविधाबारे समेत मुख्य मन्त्रिले जानकारी लिएका छन् ।
रातका समयमा जनशक्ति अभाव, उपयुक्त रेखदेखमा कमी र अस्पतालभित्रका फार्मेसीमा औषधि अभावबारे केही कुरुवाले गुनासो गरेपछि मुख्यमन्त्री सिंहले त्यहाँ आइपुगेका प्रतिष्ठानका रजिस्ट्रार विनोदकुमार यादवलाई समस्या समाधान गर्न निर्देशन गरे।
अस्पतालमा बिरामीको चाप अत्यधिक वृद्धि भइरहेका बेला भौतिक पूर्वाधार, उपकरण र जनशक्ति थपिँदै गएको उल्लेख गर्दै अस्पतालमा विद्यमान समस्या समाधान गर्दै त्यहाँ उपलब्ध सेवासुविधा उन्नत बनाउन र विविधिकरण गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताए। रासस





































