आज्ञा खबर
महोत्तरी
आमाप्रति श्रद्धा, भक्ति,सम्मान र आदर गरी आशिर्वाद लिएर आज मातातीर्थ औंसी अर्थात आमाको मुख हेर्ने दिन मनाइँदैछ । आजको दिन बिहानै उठी नुहाएर आफ्नी आमालाई राम्रा राम्रा लुगा र मीठामीठा–तागतिला खानेकुरा खान दिई आशीर्वाद थाप्ने चलन छ ।
आमा नभएकाहरू भने आमाको नाममा श्राद्ध गर्दै आमाको सम्झना गर्छन् । दिवङ्गत आमाको सम्झनामा काठमाडौं थानकोट नजिकै रहेको मातातीर्थमा ठूलो मेला लाग्ने गरेको छ ।
भक्तपुरका नेवार समुदायले भने भक्तपुरको हनुमानघाटमा गई आमाको सम्झनामा श्राद्ध गरि तर्पण दिईरहेका छन् ।
आज आमाको लागि मीठा परिकार खुवाउनको लागि धेरैजना घर र माइत जाने क्रम पनि चलिरहेको छ । जान नपाएकाहरुले भने टेलिफोन गरेर आमालाई सम्झेका छन् ।
यस्तै सामाजिक सञ्जाल फेसबुक र ट्वीटरमा पनि धेरैले आमाप्रति भावना र सम्झना साटफेर गरिरहेका छन् ।
जनश्रुति अनुसार पहिले मातातीर्थमा गोठालाहरुले गाईवस्तुहरु चराउने मैदान थियो । एक दिन त्यो मैदानमा एउटा गोठालाले फ्याँकेको रोटीको टुक्रा अचानक हराउन पुग्यो । त्यो घटनाले गोठालाहरु अचम्मित भए । गोठालाले पुनः अरु रोटीका टुक्राहरु पनि फ्याँके । ती टुक्राहरु क्रमशः हराउँदै गए ।
ती गोठालाहरु मध्ये एउटाको आमा थिइन् भने अरुका आमा थिएनन् । तर आमा हुने गोठालाले फालेको रोटीको टुक्रा भने हराएनन् । आमा नहुने गोठालाहरुले फ्याँकेका रोटीका टुक्रामात्रै हराए । उक्त दिन बैशाख कृष्णपक्ष औंसी थियो । यो कुरा अरु गाउँलेहरुले पनि थाहा पाए । गाउँलेहरुले उक्त दिन मृत्यू भइसकेका आमाले छोराछोरीले दिएका चिज खाँदारहेछन् भन्ने विश्वास गरे । हरेक बर्ष उक्त औंसीका दिन मातातीर्थको चौरमा आमाको मृत्यू भइसकेकाहरुले विभिन्न मिष्ठान भोजन लगि चढाउन थाले । पछि त्यहाँ एउटा कुण्ड समेत बनाइयो र मातातीर्थका नामले प्रचलनमा ल्याइयो ।
यसरी हरेक बर्ष आमा नहुनेहरुले मातातीर्थमा गई त्यहाँको कुण्डमा नुहाउने र मृतक आमाका नाममा मीठामीठा खाद्यपदार्थ चढाउने प्रचलन रहिआएको छ।
