आज्ञा खबर
गौर
सत्र वर्षअघि २८ जनाको ज्यान लिने गरी रौतहटको गौरमा भएको हत्याका दोषीमाथि कारबाहीको माग गर्दै मृतकका परिवारले चन्द्रनिगाहपुरमा ६ दिनदेखि धर्ना दिइरहेका छन्।
चन्द्रनिगाहपुरको तीनकुने पार्कमा मृतकका परिवारले दोषिलाई हालसम्म कारबाही गनुपर्ने माग गर्दै दबाव दिन अनिश्चितकालीन धर्ना दिँदै आएका हुँन्।
धर्नामा नेपाली काँग्रेस, रास्वपा, नागरिक समाजका अगुवा लगायत राजनीतिक दलका स्थानीय नेता तथा कार्यकर्ताले ऐक्यबद्धता जनाएका छन्।
नेपाली काँग्रेसका प्रदेश सभा ‘क’का सभापति नीलहरि कोइराला, नागरिक समाज रौतहटका अगुवा डा. शालिग्राम शमार्, रास्वपाका अजयकुमार साह लगायतले पीडित परिवारले न्याय पाउनुपर्ने भन्दै ऐक्यबद्धता जनाएका हुन्।
विसं २०६३ साल चैत ७ गते रौतहटको सदरमुकाम गौरस्थित राइस मिल चौरमा माओवादी र तत्कालीन फोरम (हाल जसपा)का बीचमा भएको झडपमा २७ जनाले घटनास्थलमै र एकजनाले उपचारका क्रममा ज्यान गुमाएका थिए।
धर्नासँगै जिल्ला तथा केन्द्रका विभिन्न राजनीतिक दलका नेता राष्ट्रिय मानव अधिकार आयोगलगायतका संघसंस्थाको ध्यान केन्द्रित भएकोको छ।
गौर हत्याकाण्डका दोषीलाई कारबाही नगरेसम्म आन्दोलन जारी रहने र सरोकारवाला निकायले चासो नदेखाए आफूहरूले कडा कदम चाल्ने गौर हत्याकाण्ड संर्घष समितिकी संयोजक रूपसागर देवीले बताइन्।
