आज्ञा खबर
सर्लाही
सर्लाहीमा शुक्रबार खुकुरी हानेर एक युवकले श्रीमतीको हत्या गरेका छन् ।
जिल्लाको हरिवन नगरपालिका–५, घुर्कौलीमा स्थानीय ३५ वर्षीय रामभरोस महतोले श्रीमती ३० वर्षीया नैनकुमारी महतोलाई खुकुरीले घाँटीमा प्रहार गरी हत्या गरेका हुन् । महतोले घरायसी विवाद हुँदा आवेगमा श्रीमतीमाथि खुकुरी हानेकोे प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
महतोको छिमेकीका अनुसार दुई दम्पतिबीच यसअघि देखि नै घरायसी झगडा हुँदै आएको थियो । श्रीमतीको हत्या गरी रामभरोस आफै इलाका प्रहरी कार्यालय हरिवनमा आएर आत्मसमर्पण गरेका छन्। उनलाई हिरासतमा राखी कानुनी कारवाही प्रक्रिया अघि बढाइएको हरिवनका प्रहरी निरीक्षक शिवराम थापाले जानकारी दिए ।
अभियुक्तले कार्यालयमा आएर आत्मसमर्पण गरेपछि प्रहरीले घटनास्थलमा पुगेर मृतक महिलाको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवा पठाएको छ ।
