आज्ञा खबर
सर्लाही
सर्लाहीको लालबन्दी नगरपालिका–२, जुटपानी गैरी गाउँमा मंगलबार साँझ आगलागी हुँदा दुईवटा घर जलेर नष्ट भएका छन् ।
आगलागीबाट स्थानिय शुभकरण साह र छिमेकी सरोज बैठा तथा उनकै भाई मनोज बैठाको सङ्गोलमा रहेको घर जलेर खरानी भएको हो । प्रहरीका अनुसार विद्युत् सर्ट भएर आगलागीमा शुभकरणको माथि टिनको छानो भएको भुइतले घर तथा घरभित्र रहेका नगद, कपडा, अन्नसहित सम्पूर्ण सरसामग्री जलेर नष्ट भई १० लाख बराबरको क्षति भएको छ ।
घर जलेपछि आठ जना परिवार सदस्य रहेको शुभकरणको परिवार विस्थापित भएको छरछिमेकीले बताएका छन् । यस्तै, सरोज बैठा र भाई मनोज बैठाको सङ्गोलको टिनको छानो भएको भुइतले घर तथा घरभित्रका सरसामग्री सम्पूर्ण जलेर नष्ट हुँदा तीन लाख रुपियाँ बराबरको क्षति भएको लालबन्दी प्रहरीले जनाएको छ ।
आगलागी गाउँले, सुरक्षाकर्मी र हरिवन नगरपालिकाबाट आएको दमकलको सहयोगमा नियन्त्रणमा आएको छ ।
