आज्ञा खबर
धनुषा
मधेस प्रदेशका मुख्यमन्त्री सरोज यादवले आफ्नो मन्त्रिपरिषदमा रहेका एमालेका मन्त्रीहरुले मंगलबार ४ बजेसम्म राजीनामा नगरे पदमुक्त गर्ने तयारी गरेका छन।
मुख्यमन्त्रीले जनमत पार्टीका मन्त्रीहरुलाई समेत पदमुक्त गर्ने तयारी गरिरहेको उनी निकट स्रोतको भनाइ छ।
एमाले मधेस सरकारबाट बाहिरिएपछि मुख्यमन्त्रीले नेपाली कांग्रेस, लोसपा र एकीकृत समाजवादीलाई सरकारमा ल्याउने तयारी गरेका छन्।
तर, नेपाली कांग्रेस मधेस प्रदेशका सभापति तथा संसदीय दलका नेता कृष्ण यादवले केन्द्रीय नेतृत्वले अहिलेसम्म प्रदेश सरकारमा सहभागी हुनेबारे आफूहरुलाई कुनै सूचना वा जानकारी नदिएको बताए।
‘मधेस सरकारबाट एमाले बाहिरिने कुरा हामीले पनि सुनेका छौं,’ कांग्रेस नेता यादवले भने, ‘तर हामी सरकारमा सहभागी हुनेबारे अहिले कुनै छलफल र सल्लाह भएको छैन।’
केही दिनअघि कांग्रेस मधेस प्रदेशका सभापति तथा दलका नेता यादवले बारा– २ को उपनिर्वाचनमा जसपा अध्यक्ष यादवलाई कांग्रेसले सघाउने हो भने प्रदेशको मुख्यमन्त्री कांग्रेसले पाउनुपर्ने माग अघि सारेका थिए। यद्यपि, कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले बारा– २ को उपनिर्वाचनमा जसपालाई समर्थन गर्ने निर्णय गरिसकेको छ।
