आज्ञा खबर
सर्लाही
सर्लाहीको हरिवनमा ट्याक्टरको ठक्करबाट एक जना बालकको ज्यान गएपछि स्थानीयले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका छन्।
ज्यानलिने ट्याक्टरका चालकलाई नियन्त्रणमा लिएर कारबाही गर्न र मृतकको परिवारलाई उचित क्षतिपूर्ति दिर्न माग राख्दै स्थानीयले शुक्रबार दिउँसो हरिवन ११ स्थित पूर्व–पश्चिम राजमार्गमा टायर बालेर एक घण्टा सवारी चल्न ठप्प पारेका हुन्। प्रहरीले आक्रोशित स्थानीयलाई सम्झाइबुझाई गरी राजमार्ग खुलाएको छ।
आन्दोलित स्थानीय, प्रहरी र ट्याक्टर धनीबीच अहिले इलाका प्रहरी कार्यालय हरिवनमा वार्ता चलिरहेको छ। बिहीबार दिउँसो हरिवन नगरपालिका ५ स्थित भित्री सडकमा ना ६ त ८४४ नम्बरको ट्याक्टरले ठक्कर दिँदा स्थानीय सिंहेश्वर शर्माको छोरा १२ वर्षीय ओमशङ्कर शर्माको मृत्यु भएको थियो।
बालकलाई घटनास्थलबाट उपचारका लागि नमुना अस्पताल हरिवन लैजादैगर्दा बाटौमै मृत्यु भएकोे प्रहरीले जनाएको छ। दुर्घटनामा संलग्न ट्याक्टर प्रहरी नियन्त्रणमा छ भने चालक फरार छन्।
मृतक बालकको शव प्रादेशिक अस्पताल मलङ्गवामा पोष्टमार्टमपछि शुक्रबार बिहान परिवारले बुझेर ल्याएको बताईएको छ।
